एकीकृत हातेमालो समाज नेपालद्वारा चार सय विद्यार्थीलाई न्यानो कपडा वितरण

कुमोद अधिकारी
पुस २३ आइतवार
विराटनगर ÷ एकीकृत हातेमालो समाज नेपालले मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ बाहुनीका ४ सयभन्दा बढी बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
बाहुनी बजारमा आइतबार आयोजित कार्यक्रममा नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य र आयोजक संस्थाका अध्यक्ष डिल्लीराम गिरीले बालबालिकालाई ज्याकेट र स्वीटर वितरण गर्नुभयो

स्थानीय किसान आधारभूत विद्यालय र देवकोटा प्राविका करिब ४ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
त्यस्तैसोही अवसरमा रोटरी क्लब अफ भादगाउँसँगको सहकार्यमा ७० जनाभन्दा बढी ज्येष्ठ नागरिकलाई ब्लाङ्केट, १५ जना विपन्नलाई सिरक, डसना, सिरानीसमेत प्रदान गरिएको थियो । स्थानीय क्लबलाई फुटबल, जर्सी, नेटलगायतसमेत वितरण गरिएको थियो । समाजकै पहलमा बाहुनीमा स्थापित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको सभाहलको समेत उद्घाटन गरिएको थियो । कार्यक्रममा मन्त्री आचार्यले नवनिर्मित सभाहलको उद्घाटन गर्नुहुदै बालबालिका र ज्येष्ठ नागरिकका क्षेत्रमा एकीकृत हातेमालो समाजले महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसासमेत व्यक्त गर्नुभयो ।
राज्य पूरा गर्नुपर्ने दायित्व एकीकृत हातेमालो समाजजस्ता संस्थाले पूरा गरिरहेको उहाको भनाई थियो ।


ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा दैनिक ७० जना ज्येष्ठ नागरिकले सेवा लिने गरेको र ज्येष्ठ नागरिकहरु दिनभरि बस्ने, दुःखसुख साटासाट गर्ने, भजन गाउने, नाच्ने, रमाइलो गर्ने गरेको गिरीले जानकारी दिनुभयो । उहाहरुलाई दिउँसोको नास्ता सेवा केन्द्रमै उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले बाहुनी क्षेत्रमा हातेमालो समाजले महत्वपूर्ण कार्य गर्दै आएकोमा धन्यवाद दिदै सामाजिक संस्था कसरी चलाउनुपर्छ भनेर एकीकृत हातेमालो समाजबाट सिक्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै सो अवसरमा पूर्वराज्यमन्त्री शिवकुमार बस्नेत, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे, मोरङ क्षेत्र नम्बर ४ का सभापति विनोद बस्नेत, कांग्रेस नेता केसरबहादुर बस्नेत, राजु मास्के, समाज कल्याण परिषदका सदस्यसचिव मनोज भट्ट, समाजसेवी लक्ष्मीमणि नेपाल, नेपाल सांस्कृतिक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रविण ओझा, एनसीआरएसका अध्यक्ष प्रकाश सुब्बालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । २० वर्षअघि स्थापित समाजले बालबालिका र ज्येष्ठ नागरिकका क्षेत्रमा कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *