कुमोद अधिकारी
पुस २० शुक्रवार
विराटनगर । मोरङको जहदा गाँउपालिकामा चार वर्षअघि सुरु भएको सन्थाल संग्राहलय निर्माण कार्य बजेट अभावमा सुस्त भएको छ । जहदा ७ सिरसिया टोलमा सन्थाल समुदायको मौलिक संस्कृति तथा परम्पराको संरक्षण गर्न निर्माणाधीन संग्राहलय सुस्त हुँदा उक्त समुदायको धार्मिक, सांस्कृतिक र परम्परागत रितिरिवाज संरक्षणको प्रयासमा बाधा पुगेको छ ।
लोपोन्मुख समुदायको रुपमा रहेको सन्थाल जातिको परम्परा संरक्षणका लागि महत्वपूर्ण मानिएको संग्राहलय निर्माण कार्यमा ढिलाइ हुँदा समस्या भएको माज्ही समिति जहदाका अध्यक्ष भगवानलाल बेस्राले जानकारी दिनुभयो । २०७६ सालबाट सुरु भएको भवनको निमार्ण कार्य अहिलेसम्म फाउन्डेसन निर्माणमा मात्र सीमित छ ।
‘अहिलेसम्म संग्राहलय परिसरको घेराबेरा, पिलर र गेट बनाउने काम मात्र भएको छ,’ बेस्राले भननुभयो ‘यो बनिसकेपछि सन्थालहरुको संस्कृति झल्काउने पहिरन, बाजागाजा लगायत विभिन्न सामग्री राखिने छ । यसले जातीय विशेषता अवलोकन गर्ने र अध्ययन गर्नेहरुको आकर्षण बढ्ने छ ।
स्थानीय छोटेलाल सोरेले पर्याप्त बजेट नदिएकै कारण भवन निर्माण लामोसमयसम्म अलपत्र रहेको बताउनुभयो । उहाले भन्नुभयो ‘सरकारले समयमा बजेट नदिएर समयमा काम सक्न गाह्रो भयो । संग्राहलय हाम्रो आवश्यकता हो जसले धर्म, संस्कृतिबाट आदिवासी समुदायलाई एक सुत्रमा जोड्न सहयोग गर्छ तर सरकारले यसमा ध्यान दिएको पाएनौं ।’
नेपालमा पहिलो पटक निमार्ण गर्न लागेको संग्राहलयका लागि पर्याप्त सहयोग नपाएको वेस्राको भनाई छ ।संग्राहलयको निमार्ण प्रक्रियामा प्राविधिक समस्या भएको कारणले पनि काममा ढिलाइ भएको जहदा गाँउपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले बताउनुभयो । यसपटक सन्थाल संग्राहलयका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरी ठेक्का प्रक्रिया अगाडि बढाएको र छिट्टै ठेक्काको टुंगो लाग्ने उहाको भनायृ छ । संग्रहालय निमार्णका लागि ६ करोड खर्च लाग्ने गरि डिपिआर तयार भएको छ ।
यसैबीच भौतिक सास्कृतिक तथा परम्पराग संस्था मज्ही प्रणालीलाई संरक्षण गर्दै त्यसलाई कानुनी मान्यता प्रदान गर्न सन्थाल समुदायले माग गरेका छन् ।मोरङको जहदा गाँउपालिकाका आदिवासी सन्थाल समुदायले सो पालिकाकामा निवेदन समेत दर्ता गरेएका छन् ।ज्ञापनपत्र बुझाउन गएका मज्ही समितिका पदाधिकारीलाई पालिकाका अध्यक्षले पहिले निवेदन दर्ता गराउन भनेपछि आफूहरुले सो विषयको निवेदन दर्ता गराएको मज्ही समिति जहदाका अध्यक्ष भगवान बेस्राले बताउनुभयो ।
२०७८–१०–२६ मा बसेको सो गाँउपालिकाको सभाले सन्थाल तथा गन्गाई समुदायको सास्कृतिक क्षेत्रको परम्परागत मान्यता तथा उनिहरुको पहिचानलाई कानुनी मान्यता प्रदान गर्ने निर्णय गरेको थियो ।
सो विषयले कानुनी मान्यता नपाएको भन्दै त्यसलाई चाडै कार्यान्वयनमा ल्याउन प्रक्रियोगत रुपमा आफूहरु अघि बढेको समिति अध्यक्ष बेस्राले जानकारी दिनुभयो । सन्थाल समुदायले संस्कृतिक संरक्षित घोषणा तथा सस्कृतिक भूमिको सूचीकरण गर्न समेत माग गरेका छन् । नेपालको संविधानको धारा–१८ तथा धारा २२६ मा स्थानीय निकायमा रहेको निश्चित क्षेत्रको सांस्कृतिक संरक्षणका लागि संस्कृतिक क्षेत्र घोषणा गर्ने तथा परम्परागत संस्थालाई मान्यता दिने व्यवस्था उल्लेख गरेको छ ।
समितिका अध्यक्ष भगवाल लाल बेस्रासहित सो पालिकाका मज्ही समितिको जग मज्ही पन्नालाल हेमरम, पालिकाका वडा न। ७ का युवा मज्ही संस्थाका अध्यक्ष महाविर मास्के सो समितिका गोडेन लखन हास्दा तथा छोटेलाल सोरेन राहुलले सयुक्त रुपमा निवेदन दर्ता गराएका छन् ।
२०७८ सालको जनगणन अनुसार मोरङ, सुनसरी तथा झापा जिल्लामा सन्थाल समुदायको जन संख्या ५७ हजार ३ सय १० रहेको छ । त्यसमध्ये जहदा गाँउपालिकामा सन्थाल समुदाय जनसंख्या सातहजार भन्दा बढि छ ।