कुमोद अधिकारी३ असार, २०८०
विराटनगर । वैदेशिक रोजगारमा जानेहरूको परिवारलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको वित्तीय संरक्षण कार्यक्रम मोरङमा प्रभावकारी बन्दै गएको छ । वैदेशिक रोजगारमा गएकाहरूले परिवारलाई पठाएको विप्रेषण रकम बचत गर्न तथा सो रकमलाई कसरी व्यावसायिक प्रयोजनमा खर्च गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा आएको हो ।
सुरक्षित आप्रवास सामी कार्यक्रममा मोरङको विराटनगर महानगरपालिका, उर्लाबारी तथा रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकामा सञ्चालित छ । सो पालिकाबाट वैदेशिक रोजगारमा गएका परिवारलाई लक्षित गर्दै गत वर्षदेखी वित्तीय संरक्षण कार्यक्रम सञ्चालनमा आएको हो ।
सामी परियोजनाले आज विराटनगरमा आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा कार्यक्रम सञ्चालनमा आएपछि वैदेशिक रोजगारमा गएका परिवार तथा उनका आफन्तहरूले विदेशबाट आएको विप्रेषण सही ठाउँमा खर्च गर्न थालेको संस्थाका कार्यक्रम अधिकृत देवनारायण चौधरीले जानकारी गराउनुभयो ।
कार्यक्रम सञ्चालनमा आएपछि वैदेशिक रोजगारमा गएकाहरूले परिवारलाई पठाएको विप्रेषण रकम बचत गर्न शुरु गरेको तथा सानातिना व्यवसाय सञ्चालन गर्न थालेका र उनीहरूको वित्तीय संस्थामा पहुँच बढेको उहाँले बताउनुभयो ।
परियोजनाले वडा वडामा गएर सामूहिक रुपमा कक्षा सञ्चालन गर्दै आएको छ । वैदेशिक रोजगारबाट पठाएको रकम दुरुपयोग हुन थालेको गुनासो आएपछि घरघरमा गई कक्षा सञ्चालन गरेर महिला तथा तिनका परिवारलाई परियोजनाले जागरुक बनाउन थालेको हो । कक्षा सञ्चालनमा आएपछि परिवार कमाएको पैसाको महत्त्व बुझ्न थालेपछि परिवारमा समेत मेलमिलाप वढन थालेको छ । साउदी अरब, कुवेत , कतार , ओमान तथा दुबई जस्ता खाडी राष्ट्र जानेहरूलाई लक्षित गर्दै सो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
साथै सो परियोजनाले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा कार्यालय राखेर २०७६ साल फागुन महिनादेखि वैदेशिक रोजगारमा जानेहरूका लागि विभिन्न सेवा प्रदान गरिरहेको कार्यक्रम संयोजक दिपक राउतले बताउनुभयो ।

उहाँका अनुसार संस्थामा वैदेशिक रोजगारमा ठगिएका तथा कामदारको मृत्यु भएकाहरूलाई सही रुपमा न्याय प्रदान गर्न संस्थाले सहजीकरण गर्ने गरेको छ । खाडी मुलुक जाने कामदारहरूका लागी संस्थाले सिपमूलक तालिम दिनुका साथै कामदारलाई एजेन्टबाट ठगिहुन नदिन विभिन्न सुझाव र परामर्श दिँदै आएको छ । जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाउनेहरूलाई कार्यालयले सेवा प्रभा गर्ने गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष केशवकुमार बस्नेतले कामका लागि विदेश जाने क्रम उल्लेखनीय रुपमा बढेकाले उनीहरूलाई स्वदेशमै रोजगारी सृजना गर्न संघ, प्रदेश र स्थानीय सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन मोरङका सबै पालिकामा यो कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । संस्थामा विगत चार महिनामा विदेशमा कामदारको मृत्यु भएका तथा वैदेशिक रोजगारीको नामा ठगिएका १ सय ७५ वटा उजुरी परेको कार्यक्रममा जानकारी गराइएको थियो ।