कुमोद अधिकारी५ असार, २०८०
विराटनगर । घरजग्गा सिमानाको विषयमा विवाद भएपछि मोरङ रंगेली नगरपालिका वार्ड न ७ कि देवी भट्टराई उजुरी लिएर रंगेली नगरपालिका पुग्नुभयो । सदियारले जग्गा मिचेर पर्खाल लगाउन खोजेको भन्दै न्यायका लागि उहाँले नगरपालिकाको न्यायिक समितिमा उजुरी दिनुभयो । निष्पक्ष न्याय पाउने विश्वासका साथ न्यायिक समितिमा उजुरी दिएको उहाँको भनाई छ ।
त्यस्तै मछिन्द्रवहादुर कटुवाल पनि जग्गाको विषयमा विवाद देखिएको विवाद मिलाउन छलफलका लागि न्यायिक समितिमा पुग्नुभयो । आफ्नो चारधुर जग्गा अर्केले काटेर लगेको भन्दै उहाँ पनि न्यायिक समितिमा पुग्नु भएको हो । न्यायिक समितिमा जाँदा खर्च नहुने र दुखपनि नपाइने साथै समयमा विवादको समाधान हुने भएकाले न्यायका लागि समितिमा उजुरी दिएको उहाँको भनाई छ ।
स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत स्थानीय तहमा सञ्चालन हुँदै आएको न्यायिक समितिको सेवा प्रभावकारी बन्दै गएको छ । छिटो छरितो एवं सहज रुपमा न्याय सम्पादन हुन थालेपछि न्यायिक समितिप्रति जन विश्वास वढन थालेको छ । सानातिना विवाद र झैँ झगडा हुँदा न्यायका लागि सर्वसाधारण न्यायिक समितिमा पुग्ने गरेका छन् ।

उजुरी परेका दुवै पक्षलाई राखेर समन्वय गर्दै हर सम्भव मेलमिलाप गरेर पठाउने गरेकाले समितिप्रति जनविश्वास बढेका समितिका संयोजक एव रंगेली नगरपालिकाका उप–प्रमुख भुमा पराजुलीको भनाई छ ।
पालिकाहरूले इजलास नै राखेर समितिमा आएका उजुरी उपर छलफल गर्ने छिटो भन्दा छिटो उजुरी फर्छ्यौट गर्ने गरेका छन् । समितिमा नमिलेका उजुरी प्रहरी प्रशासनमा पुग्ने गरेका छन् । आफूले निर्वाचित गरेका जनप्रतिनिधि प्रती विश्वास बढेका कारण सानातिना झैझगडाका विषय पनि न्यायिक समितिमा आउने गरेको र दुवै पक्षलाई मिलाएर पठाउँदा समाजमा मेलमिलापको वातावरण वनेको उप–प्रमुख पराजुलीको भनाई छ ।
त्यस्तै सुनवर्सी नगरपालिकामा नयाँ जनप्रतिनिधिले जिम्मेवारी सम्हाले पछि न्यायिक समितिमा ५८ वटा उजुरी दर्ता भएका छन् । त्यसमध्ये २८ वटा उजुरी फर्छ्यौट भइसकेको छ ।
समितिमा जग्गा विवाद, गाली बेइज्जती, फोहर व्यवस्थापन, ज्येष्ठ नागरिक हेरचाह, बहाल कर, सार्वजनिक बाटोको विवाद जस्ता उजुरी बढी आउने गरेका छन् ।न्याय सम्पादन गर्दा समस्या र चुनौती उत्तिकै रहेको समितिका संयोजक एवं सुनवर्सी नगरपालिकाका उप–प्रमुख मिरादेवी दासको भनाई छ । न्यायिक समितिका कारण स्थानीय स्तरमा न्यायमा पहुँच बढेको र कानुन तथा न्यायका विषयमा सबै समुदाय जानकार हुन थालेको उहाँको भनाई छ ।