कुमोद अधिकारी
२५ वैशाख,
विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले मन्त्रालयले विशेष योजनाहरुलाई प्राथमिकता दिने गरि बजेटको तयारी गरि रहेको बताउनु भएको छ ।
मन्त्रालयमा आज मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिनका एक सय उपलब्धी सार्वजनिक गर्दै मन्त्री पराजुलील अव आउने वजेटमा खुद्रे योजनालाई प्राथमिकता नदिइने बताउनु भयो ।
चालु आर्थिक वर्षमा मन्त्रालयले ६३९ योजना बजेटमा समावेश गरेपनि आगामी वर्षको बजेटमा खुद्रे योजनाहरु समावेश नहुने उहाँले बताउनुभयो ।
मन्त्री पराजुलीले पर्यटन प्रवद्र्धनका लागि कोशी प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रहरुलाई प्राथमिकता दिइने बताउनुभयो । उहाँले प्रदेश स्थापना पछि १० अर्व सामुदायिक वनमा पार्क, टोल टोलमा धार्मिक मठमन्दिर लगायतका उपलव्धि विहिन क्षेत्रमा लगानीले सरकारले सोचे अनुसार उपलव्धी प्राप्त नभएको बताउनुभयो ।
पर्यटन विकास योजनावाट ७८ वटा योजना ठेक्का प्रकियावाट र २४४ वटा सम्झौता भई कार्य भैरहेको जानकारी मन्त्री पराजुलीले दिनु भयो ।
उहाँले भारतीय पर्यटकलाई आकर्षण गर्न पाथिभरा देखि वराह क्षेत्र, हलेसी, पिण्डेश्वरी, रामधुनी लगायतका क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखी नीजि क्षेत्रलाई साथमा लिई पूर्वाधार निर्माणकार्य गर्ने बताउनु भयो ।
मन्त्रालयले प्रदेशलाई स्वावलम्वन बनाउने उद्देश्यले कार्य गरिरहेको बताउँदै मन्त्री पराजुलीले विस २०८१–०८२ मा मन्त्रालयको वेरुजु शुन्यमा राखिएको बताउनुभयो ।
यसैगरी उहाँले कोशी र गण्डकी प्रदेश सरकारवीच अन्तर प्रदेश पर्यटन प्रवद्र्धनका लागि समझदारी पत्रमा हस्ताक्षर हुनका साथ पोखरा–विराटनगर सिधा हवाई सेवा तथा पर्यटकीय वस सेवा संचालनका लागि संघीय सरकार समक्ष आवश्यक पहल गर्ने निर्णय भएको जनाइएको छ ।
कोशी प्रदेश र मधेश प्रदेशका पर्यटन व्यवसायी बीच अन्तर प्रदेश पर्यटन प्रवद्र्धन अन्तरगत प्रदेशको सुनसरी जिल्लामा रहेको रामधुनीलाई रामायण सर्किटमा जोडर संयुक्त प्रचार प्रसार गर्ने समझदारी भएको उहाले जानकारी दिनुभयो ।