फागुन १८ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म आयोगबाट प्रचारप्रसार निषेध अवधि तोकिएकाले आज राति १२ बजेपछि निर्वाचनका प्रचारप्रसार गरी मत माग्न नपाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । प्रचारप्रसार निषेध अवधिमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने विशेष आचरण निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख छ ।
यही फागुन ४ गतेदेखि राजनीतिक दलले निर्वाचनका लागि प्रचारप्रसार गरी मत माग्दै आएका थिए । यो क्रम आज राति १२ बजेसम्म जारी हुन्छ । त्यसपछि मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरका निम्ति शान्ति वा निषेध अवधि अनिवार्य हुने र यसले स्वच्छ प्रतिस्पर्धालाई प्रवर्धन गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ ।
दलले प्रचारप्रसार गर्ने अन्तिम दिन आज हिमाली र पहाडी जिल्लामा फागु पूर्णिमा पर्व परेकाले पर्वसँगै निर्वाचन प्रचारप्रसार भइरहेको छ । निर्वाचनमा भाग लिएका दल र उम्मेदवार आज प्रचारप्रसारमा छन् । राति १२ बजेदेखि सुरु हुने प्रचारप्रसार निषेध अवधिमा कुनै प्रचारप्रसार गरी मत माग्न पाइँदैन । यस अवधिमा राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा प्रचारप्रसार, कुनै किसिमको सन्देश सम्प्रेषणलगायत निर्वाचन प्रचारसँग सम्बन्धित कार्य गर्न निषेध गरिएको छ । मतदान हुने दिनको ४८ घण्टाअघि अर्थात् आज राति १२ बजे मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।