सुनसरीको बराहक्षेत्रमा कात्तिक पूर्णिमा मेला सुरु

सुनसरीको ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल बराहक्षेत्र मन्दिर परिसरमा आजदेखि कात्तिक पूर्णिमा मेला सुरु भएको छ। हरेक वर्ष कात्तिकको ठुली एकादशीदेखि सुरु हुने यो मेला १५ दिनसम्म लाग्ने गर्दछ। मेलामा देशभरिका साथै भारतका विभिन्न स्थानबाट आएका भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।

बराहक्षेत्र मन्दिर पवित्र सप्तकोसी र कौसिकी नदीको संगमस्थलमा अवस्थित छ। यहाँ प्रत्येक वर्षको कात्तिक पूर्णिमामा स्नान गर्न, पूजापाठ गर्न, रुद्राभिषेक तथा पितृ उद्धारका लागि श्राद्ध गर्न भक्तजन आउने गर्छन्। धार्मिक विश्वासअनुसार सप्तकोसीमा स्नान गरी बराहक्षेत्र मन्दिरमा दर्शन गरे मनोकामना पूरा हुने र श्राद्ध गर्दा पितृ मोक्ष प्राप्त हुने मान्यता रहेको छ।

बराहक्षेत्र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भक्त श्रेष्ठका अनुसार यस वर्ष तीन लाखभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गर्ने अनुमान गरिएको छ। उनले नेपालका विभिन्न जिल्लासँगै भारतका बिहार, सिक्किम, दार्जिलिङ लगायतका क्षेत्रबाट पनि दर्शनार्थीहरू आउने जानकारी दिए।

मेलाको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक दिवस कुवरले जानकारी दिएका छन्। उनले भीडभाडका कारण दुर्घटना हुन नदिन विशेष सुरक्षा योजना लागू गरिएको र सप्तकोसी नदीमा स्नान गर्न आउने भक्तजनलाई सावधानी अपनाउन अनुरोध गरिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *