विराटनगर । जेन–जी आन्दोलनका क्रममा कोशी प्रदेशमा १० जनाको मृत्यु भएको छ । ज्यान गुमाएका १० मध्ये पाँच जनाको अझै सनाखत हुन सकेको छैन ।
पाँच जनाको कोही पनि आफन्त सम्पर्कमा नआउँदा सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा प्रहरीको गाोली लागेका ५ जनाको र भाटभटेनी लुट्न जाने क्रममा ५ जनाको जलेर मृत्यु भएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार हालसम्म झापाको बिर्तामोडमा मृत्यु हुने ३ जना र सुनसरीको इटहरीमा मृत्यु हुने २ जनाको मात्र सनाखत भएको छ । इटहरीमा प्रहरीको गोली लागेर घाइते भएका इटहरी १६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी १४ का ४० वर्षीय चंखे भनिने मोहन सरदारको मृत्यु भएको थियो ।
यस्तै झापाको बिर्तामोडमा भएको झडपमा परी मृत्यु हुनेमा अर्जुनधारा ११ का ३० वर्षीय गोपाल सेढाईँ, अर्जुनधारा ८ का ३२ वर्षीय दिनेश राजवंशी र पाँचथर हिलिहाङका ३० वर्षीय कमल भण्डारी रहेका छन् । झापाको विर्तामोडमा प्रहरीको हतियार खोसिएको थियो । ती हतियारबाट पनि गोली चलाइएको प्रहरीले बताउँदै आएको छ ।
आन्दोलनका क्रममा सुनसरीको धरानस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा भदौ २७ गते चार जनाको शव भेटिएको थियो । उनीहरूको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । यस्तै विराटनगरको भाटभटेनीमा सोमबार एक जनाको जलेको अवस्थाामा कंकाल फेला परेको थियो । उनीहरु आफ्नो कर्मचारी नभएको भाटभटेनीले बताएकोले आगजनीको बेला लुटपाट गर्न पुगेकाहरुको जलेर मृत्यु भएको अनुमान गरिएको छ । तर, उनीहरुको पहिचान भएको छैन ।
भाटभटेनीमा मृत्यु भएकाहरुको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले बताए । आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा आगलागी भएको थियो । सोही क्रममा भित्रै जलेर नचिनिने अवस्थामा गत २७ गते चार जनाको शव भेटिएको थियो । प्रहरी नायव उपरीक्षक जबेगूका अनुसार अहिलेसम्म कोही पनि आफन्त हराएको भन्दै प्रहरी कार्यालयमा पुगेका छैनन् ।
झडपका प्रदेशमा ११४ जना प्रहरी घाइते भएका छन् । ५ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार ४६ जना आन्दोलनकारीहरू घाइते भएका छन् ।