१८ भदौ । गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा एक हजार ७ सय ८३ उजुरी परेका छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले धनकुटामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण सुशासन प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा १ हजार ७ सय ८३ उजुरी परेको र अघिल्लो वर्षबाट ५ सय ५३ जिम्मेवारी सरेर आएको जानकारी दिइएको हो। परेका उजुरीमध्ये संघीय मामिलासम्बन्धी ८ सय १५, शिक्षासम्बन्धि ३ सय ६५, भूमिसुधारसम्बन्धि १ सय १३, बनसम्बन्धि ९२, भौतिकसम्बन्धि ९३ र अन्य ३ सय ५ वटा रहेको जनाइएको छ। उजुरी परेकामध्ये सबैभन्दा बढि सप्तरी जिल्लामा ५ सय १७ वटा र सबैभन्दा कम पाँचथर जिल्लामा २८ वटा रहेको अख्तियारले जनाएको छ। गत वर्ष परेको उजुरी र अघिल्लो वर्षहरुबाट दायित्व सरेर आएका सहित गरि १ हजार ९ सय ३८ वटा उजुरी फछ«यौट भएका र ३ सय ९८ वटा बाँकी रहेको पाइएको छ।
कार्यक्रममा सहभागिले उजुरी परेपनि कारबाही नभएको, सानालाई कारबाही गरेपनि ठूलालाई संरक्षण गरेको आरोप लागेका कारण अख्तियारमा शुद्धता हुनुपर्ने सुझाव दिएका थिए। अख्तियारको इटहरीस्थित कार्यालयका प्रमुख खगेन्द्र प्रसाद रिजालले अख्तियारमा आर्थिक वर्ष २०७०÷०७१ का उजुरी अझै बाँकी रहेको बताउँदै आर्थिक वर्ष २०७९÷०८० अगाडिका चालु आर्थिक वर्षमा फछ«यौट हुने जानकारी दिनुभयो। उहाँले सार्वजनिक निकायमा हुने आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रणको कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सबैले सहयोग गर्नुपर्ने बताउनु भयो।
कार्यक्रममा धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले आयोगको काम जनविश्वसनीय बनाउन आफ्नै भूमिकालाई थप फराकिलो बनाउनुपर्ने बताउँदै सबैलाई खराब भन्ने तरिका विष्लेशण गर्ने तरिका गलत बन्दै गएको बताउनु भयो। उहाँले गलत काम नगरेको र गर्नेलाई नछोड्ने बताउनु भयो। उहाँले आफू नगरपालिकामा रहेसम्म भ्रष्ट्राचार नगर्ने र गर्न नदिने प्रतिबद्धता जनाउनु भयो।