कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा डिजिटल भुक्तानी(क्यूआर) सेवा शुरु, सुशासन कायमगर्न डिजिटल भुक्तानी प्रमुख माध्यम–मन्त्री राई

कुमोद अधिकारी
२३ साउन
विराटनगर। कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा डिजिटल भुक्तानी सेवा शुरु भएको छ । कोशी प्रदेसका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शुक्रवार एक कार्यक्रमका विच सेवाको शुभारम्भ गर्नुभयो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्रदेशस्थित सरकारी कार्यालयमा पहिलो पटक डिजिटल भुक्तानी (क्यूआर) सेवा शुभारम्भ भएको हो ।
मन्त्री राईले प्रयोगशालामा स्वास्थ्य जाँचका लागि क्यूआरबाट भुक्तानी गरेर सेवको शुभारम्भ गर्नु भएको थियो । योसँगै कोशी प्रदेशको डिजिटल यात्रा सुरु भएको छ ।
सो अवसरमा वोल्नुहुदै मन्त्री राईले सुशासन कायम गर्न डिजिटल भुक्तानी प्रमुख माध्यम भएकोले प्रदेश मातहतका सम्पूर्ण अस्पतालहरुमा सेवाग्राहीलाई शुल्क तिर्नका लागि डिजिटल भुक्तानी सेवा संचालनमा ल्याउने वताउनुभयो । डिजिटल भुक्तानीले सुशासन संगै सेवाप्रभालाई पारदर्सी एंव प्रभावकारी वनाउन थप मद्त पुग्ने मन्त्री राईको भनाई थियो ।


कोशी प्रदेश लेखा नियन्त्रक दामोदर खत्रीले प्रदेश सरकारले सबै भुक्तानी डिजिटल गर्दै आएको र अब प्रदेश सरकारले सेवाग्राहीबाट राजश्व संकलनका लागि प्रदेशस्थित सरकारी कार्यालयमा पहिलो पटक डिजिटल भुक्तानी सेवा सुरु गरेको बताउनु भयो ।
‘डिजिटल भुक्तानीले सेवाग्राही र सेवाप्रदायक कार्यालयका कर्मचारीबीच दुरी कायम हुने र सेवाग्राहीले घर बसेरै सेवा प्राप्त गर्न सहज हुने उहाको भनाई छ ।
कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका प्रमुख प्रकाश चन्द्र कार्कीले डिजिटल भुक्तानी सेवाको शुभारम्भसँगै प्रयोगशालामा सेवा प्राप्त गर्न आउने सेवाग्राहीलाई अब नगद बोकेर आई रहनु नपर्ने वताउनुभयो ।
प्रयोगशालामा सेवा प्राप्त गर्न आउने सेवाग्राहीले अब डिजिटल अर्थात् क्यूआर सेवाबाट र नगद दुबै माध्यम वाट भुक्तानी गर्ने गरि कार्यालयले व्यवस्था मिलाएको उहाको भनाई छ ।
प्रयोगशाला वाट दैनिक डेढसय विरामीले सेवा लिई रहेका छन । प्रयोगशालावाट कोशी प्रदेसका १४ वटै जिल्लाका विरामीले सेवा लिने गरेको प्रयोगशाल प्रमुख कार्कीको भनाई छ ।
प्रयोगशालाबाट गत आर्थिक वर्षमा २३ हजार ६९० जना बिरामीलाई प्रयोगशाला परीक्षण सेवा प्रदान गरिएको थियो । जसमा प्रयोगशालामा आएर प्रत्यक्ष रुपमा २२ हजार ३९० जनाले सेवा प्राप्त गरेका छन् भने स्वास्थ्य मन्त्रालयले सुरु गरेको कुरियर सेवामार्फत प्रदेशका विभिन्न जिल्लाका १३ सय बिरामीले सेवा प्राप्त गरेको प्रमुख कार्कीले बताउनुभयो । कुरियर सेवा प्राप्त नमूनामध्ये इलाम र ताप्लेजुङका दुई जना बिरामीमा क्यान्सर रोग पत्ता लागेको थियो ।


प्रयोगशालाले बिरामीलाई सेवा दिए वापत २ करोड २६ लाख ६२ हजार ९७५ रुपँया संकलन गरेको छ । जसमा सेवाग्राहीबाट १ करोड ६५ लाख २७ हजार ४४० रुपैयाँ राजश्व संकलन भएको छ भने ६९ लाख ३४ हजार ७३५ रुपैयाँ सेवाग्राहीलाई छुट दिइएको छ ।
सो कार्यालयले गत आर्थिक वर्षमा प्रयोगशालाबाट सेवाग्राहीलाई सहज र व्यवस्थित रुपमा सेवा प्रवाहका लागि सुधारको काम समेत गरेको छ ।
सेवाग्राहीलाई एउटै कोठाबाट प्रयोगशाला जाँच सेवा प्रदान गर्न इन्टिग्रेटेड प्रयोगशाला सञ्चालनमा ल्याउनुका साथ, ५ हजार महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरेको र परीक्षणका लागि हिस्टो प्याथोलोजि प्रयोगशाला अञ्चालन र विश्व स्वास्थ्य संगठनको सहयोगमा एएमआर साइटहरु छनोट गरी कटारीलगायतका अस्पतालबाट सेवा सुरु गरेको कार्यालयले जनाएको छ ।
यसका साथै कोशी प्रदेशस्थित सम्पूर्ण निजी प्रयोगशालाहरुलाई स्थानीय तह र संघीय सरकारको सम्न्वयमा पूर्ण रुपमा दर्ता प्रक्रियामा लग्ने र क्षयरोग, मलेरिया, डेंगु, दादुरा, जे.ई. जस्ता रोगहरुको पहिचानका लागि मलिकुलर बिधिबाट परीक्षण सुरु गर्ने लक्ष्य रहेको सो अवसरमा जानकारी गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *