विराटनगर : मोरङमा एकजना थुनुवाको मृत्यु भएको छ। अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेका थुनुवाको मृत्यु भएको हो । झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयाे । उहाँका अनुसार श्रेष्ठलाई अनुसार अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा राखिएको थियो । उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा बिहान १२ बजेतिर मृत्यु भएको जोशीले बताउनुभयाे।
प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन जेठ १५ गते म्याद थप गरेर श्रेष्ठलाई हिरासतमा राखी अनुसन्धानको थप प्रक्रिया अघि बढाएको थियो । प्रहरीका अनुसार ९ बजेतिर कोशी अस्पताल लगिएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।
लागुऔषध सेवनकर्तासमेत रहेका श्रेष्ठ लामो समयदेखि परिवारको सम्पर्कमा नरहेको पत्ता लागेको छ । उनी अपराधिक पृष्ठभूमिका व्यक्तिसमेत हुन् । डीएसपी जोशीका अनुसार श्रेष्ठविरुद्ध यसअघि विभिन्न प्रहरी कार्यालयबाट ४ पटक मुद्दा चलिसकेको रेकर्ड छ । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी,झापाको इलाका प्रहरी कार्यालय दमक, मोरङको इलाका प्रहरी कार्यालय पथरी र जिल्ला प्रहरी कार्यालय मोरङबाट उनीविरुद्ध यसअघि मुद्दा चलिसकेको थियो ।