कोशी प्रदेशमा लगानी सम्मेलन शुरु , ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

बैशाख १८,कुमोद अधिकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्ताहरुलाई कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । विराटनगरस्थित वीरेन्द्र सभागृहमा आयोजित कोशी प्रदेश लगानी सम्मेलन–२०२५ उद्घाटन गर्नुहुँदै उहाँले शान्तिसुरक्षाको अवस्था राम्रो रहेकाले लगानीकर्ताले ढुक्क भएर उद्योग, व्यापारका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।
कोशी प्रदेशमा आवश्यक विकासका पूर्वाधार तयार भइसकेकाले लगानीकर्तालाई कुनै पनि असुविधा नहुने उहाँले बताउनुभयो । एसियाली मापदण्डमा पूर्व पश्चिम राजमार्ग स्तरोत्रति गरिरहेको उल्लेख गर्दै हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गले पनि लगानीकर्तालाई व्यापार, व्यवसाय विस्तार गर्न सहज हुने उहाँको भनाइ छ ।
देशको कुल गार्हस्थ उत्पादनमा कोशी प्रदेशको भूमिका अग्रणी रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले युवा विदेश होइन, अब स्वदेशमै उद्यमी बनेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशमा लगानीको वातावरण बनाउन निजी क्षेत्रको साथमा सरकार संगसंगै हिडने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयोे,’ निजी क्षेत्रले लगानीको वातावरण बनाउनका लागि कानुनहरू संशोधन गर्न भन्नु भएको छ हामी संशोधन गर्न तयार रहेका छौं ।’
कोशी प्रदेशमा निजी क्षेत्रको लगानीको वातावरण ग्यारेन्टी गर्न आफूहरू सङ्घीय सरकार स‌‌ग आग्रह गर्ने बताउनुभयो ।
प्रदेशमा भएका सम्भावनाका क्षेत्रहरूमा लगानी गर्नका लागि लगानी सम्मेलन आयोजना गरेको बताउँदै मुख्यमन्त्री कार्कीले स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार र निजी क्षेत्रले बनाएका परियोजनाहरू हेरेर लगानी सम्मेलनमा ७१ वटा परियोजना तयार पारिएको दाबी गर्नुभयो ।


उहाँले भन्नुभयो , ‘हामीले अध्ययन गर्दा निजी क्षेत्र उत्साहित भएको पाएपछि हामीले यो सम्मेलनको आयोजना गरिएको छ ।
प्रदेश सरकारले लगानी सम्मेलन, २०२५ का सन्दर्भमा व्यवसायमैत्री लगानीको वातावरण निर्माणका लागि केही प्रदेश कानुन अध्यादेशमार्फत संशोधन पनि गरेको छ ।
संशोधन गर्ने आठ वटा ऐनमा सार्वजनिक निजी साझेदारी ऐन, २०७६, प्रदेश सहकारी ऐन, २०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६, भवन ऐन, २०७६, प्रदेश औद्योगिक व्यवस्था ऐन, २०७७, प्रदेश पर्यटन विकास ऐन, २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्ट्रेसन ऐन, २०७७ र प्रदेश वन ऐन, २०७७ रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *