चैत्र १८ विराटनगर
इस्लाम धर्मावलम्बीहरुले महान पर्व इद उल फित्र सोमवार विराटनगरमा हर्ष उल्लासपूर्वक मनाइरहेका छन् । नेपाल सरकारले इद पर्वको अवसरमा सार्वजनिक विदासमेत दिएको छ । इस्लाम धर्मावलम्बीहरुले इदगाहमा गएर नमाज (प्रार्थना) पढेर इद पर्व मनाइरहेका छन् । विराटनगरका इस्लाम धर्मावलम्बीहरुले विराटनगर १३ स्थित इदगाहमा नमाज पढेर इद पर्वको खुशीयाली साटासाट गरेका हुन् ।
महिना दिनदेखि रोजा (उपवास) बस्दै आएका इस्लाम धर्मावलम्बीहरुले आइतबार साँझ चन्द्रमा देखेको खुशीयालीमा सोमबार इद उल फित्र पर्व धुमधामका साथ मनाइरहेका छन् । यो वर्षको रमजानमा २९ दिन उपवास बसेपछि इस्लाम धर्मावलम्बीहरुले आइतबार चन्द्र हेरेका थिए । चन्द्रमा हेरेको भोलीपल्ट इद पर्व मनाउने परम्परा छ ।
इद पर्वको अवसरमा सोमवार बिहान स्नान गरेपछि धार्मिक विधि अनुसार ओजू (हात, मुख, अनुहार, टाउको र खुट्टा पानीले धोएर) गरेपछि नयाँ लुगा लगाएर इदगाहमा गएर नवाज पढेको विराटनगरका मोहम्द नसरुलले बताउनु भयो । नमाज पढेपछि एकआपसमा अंगालो हालेर खुशी सटासाट गरेका हुन् । त्यसपछि घर फर्केर परम्परागत परिकारहरु केमामी सेबइ, माशु, पुलाउ, ब्रियानीलगायतका फलफूल एकसाथ मिलेर खाने चलन छ । इस्लाम धर्मावलम्बीहरुले दिनभरि आफन्त, साथीभाई, नातेदारका घरघरमा गएर इद पर्वको खुशी साटेर रमाउने परम्परा छ ।