कुमोद अधिकारी
२३ फागुन,
बाँकेबाट विभिन्न कामका सिलसिलामा कतार पुगेकाहरुले कतारमा रहेका नेपालीहरुलाई अप्ठेरो पर्दा उपचारमा सहयोग पुर्याउने उद्वेश्यले आज दोहामा रक्तदान कार्यक्रम गरेका छन् ।
बाँके सेवा समाज, कतारको आयोजनामा स्थानीय सरकारी अस्पताल हमाद हस्पिटलको रक्त सञ्चार केन्द्रमा रक्तदान गरिएको हो । नेपालीहरु कतारमा विभिन्न जोखिमपूर्ण काममा समेत रहेको र कहिलेकाँहि दुर्घटनालगायतका अवस्थामा रगत पाउन गार्हो हुने गरेकाले रक्तदान कार्यक्रम आयोजना गरेको बाँके सेवा समाज कतारका उपाध्यक्ष हेमराज रिजालले जानकारी दिनुभयो ।

स्थानीय समय अनुसार विहान ८ देखि १ बजेसम्म आयोजित रक्तदान कार्यक्रममा ५० जना भन्दाबढीले रक्तदान गर्नुभयो ।अब नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गरिने उपाध्यक्ष रिजालले जानकारी दिनुभयो ।
कतारमा ३ लाख ६४ हजार नेपाली श्रमिक कार्यरत रहेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।