तीव्र गतिको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर चैत्र ३

मोरङको बूढीगंगामा शनिवार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि राति १०ः४५ बजेतिर मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङ लेखिएको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो । मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले दुर्घटनामा एम्बुलेन्सका चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको बताउनुभयो ।
एम्बुलेन्स दुर्घटनामा परेको जानकारी पाउनसाथ घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय नेमुवाका इन्चार्ज (प्रहरी नायव निरीक्षक) भुवन श्रेष्ठ नेतृत्वको टोलीले गम्भीर घाइते अवस्थाका चालक राईलाई उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल पु¥याएको थियो । अस्पताल पु¥याउनसाथ राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
तीव्र गतिमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एम्बुलेन्स आफैं अनियन्त्रित भइ ‘डीभाईडर’मा ठोक्किएर दुर्घटनामा परेको हुनसक्ने उहाँले बताउनुभयो ।
दुर्घटनामा परेर क्षतिग्रस्त भएको एम्बुलेन्स इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *