विराटनगर महानगरले आयोजना गरेको विज्ञान प्रदर्शनीमा मेन्टमेरी प्रथम

विराटनगर ÷ विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी उत्कृष्ट प्रस्तुतिका साथ मेन्टमेरी बोर्डिङ स्कुल प्रथम भएको छ ।
प्रदर्शनीमा सहभागी ४७ विद्यालयलाई पछि पार्दै सेन्टमेरी प्रथम भएको हो । त्यस्तै शिक्षादीप सेकेण्डरी स्कुल द्वितीय, गोदावरी सेकेण्डरी स्कुल तृतीय र कान्तिपुर सेकेण्डरी स्कुलले सान्त्वना स्थान प्राप्त गरेका थिए । त्यस्तै विधागततर्फ ५ वटा विद्यालयलाई पुरस्कृत गरिएको थियो । जसमा उत्कृष्ट विश्लेषण र प्रस्तुत आदर्श मावि, उत्कृष्ट विषयवस्तु एभरेष्ट मावि, उत्कृष्ट भविष्यात्मक दृष्टिकोण विकेभिएम स्कुल, उत्कृष्ट उद्यमशीलता डिएभी स्कुल र उत्कृष्ट स्टल सजावट अर्किट सेकेण्डरी स्कुल पुस्कृत भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यालयलाई क्रमशः २०, १५, १० र ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईका अनुसार ५ वटा विधामा उत्कृष्ट हुने विद्यालयलाई प्रोत्साहनस्वरुप २–२ हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरे । २०७६ सालदेखि सुरु भएको प्रदर्शनीमा गत वर्ष १० हजारभन्दा बढीले अवलोकन गरेका थिए । यस वर्ष १५ हजारभन्दा बढी विद्यार्थीले प्रदर्शनी अवलोकन गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश ढुंगानाले जानकारी दिए । मेची बहुमुखी क्याम्पसका प्राध्यापक सरोज नेपाल प्रमुख निर्णायक रहेको समितिले पुरस्कृत विद्यालयहरूको नाम सार्वजनिक गरेको थियो । स्मार्ट साइन्स, एग्रिकल्चर र इनोभेसनलाई आधार मानेर निर्णय गरिएको प्रमुख निर्णायक नेपालले जानकारी दिए ।


विराटनगर–७ स्थित आदर्श स्कुल परिसरमा आयोजित प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताए । महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको उल्लेख गरे । ‘तपाईं विद्यार्थीहरू खोज अनुसन्धानमा लाग्नुहोस् महानगरका तर्फबाट तपाईंहरूलाई सधैं साथ रहन्छ,’ मेयर कोइरालाले भने, “प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरू प्राप्त हुन्छन् । आफैं स्वरोजगार पनि हुन सकिन्छ ।’ मेयर कोइरालाले अन्तरीक्षसम्बन्धी खोज अनुसन्धानका लागि प्रदेशस्तरमा केन्द्र स्थापना हुनुपर्नेमा समेत जोड दिए ।
उपमेयर शिल्पा निराला कार्कीले विद्यालयस्तरदेखि नै विद्यार्थीहरूलाई खोज र अनुसन्धानमा लाग्न विज्ञान प्रदर्शनीले थप प्रेरित गर्ने बताइन् । उनले यस्ता प्रदर्शनीले विज्ञान र प्रविधिमा चासो राख्ने विद्यार्थीलाई अगाडि बढ्न सहयोग पुग्ने विचार व्यक्त गरिन् । उपमेयर कार्कीले विज्ञान र प्रविधितर्फ विद्यार्थीको आकर्षण बढाउन महानगरले हरेक वर्ष प्रदर्शनी आयोजना गर्ने गरेको जानकारी दिइन् ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई मोरङका निमित्त प्रमुख जीवन गड्तौलाले महानगरले वृहत विज्ञान प्रदर्शनी गरेर विद्यार्थी–विद्यार्थी बीच र विद्यालय–विद्यालयबीच प्रतिस्पर्धी क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । यस्तै प्रदर्शनीबाट विद्यार्थीको क्षमता निराखिँदै जाने उनको विचार थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *