११ फागुनः ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किंदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिवार राति जारी गर्नुभएको सूचनामा सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । शनिवार साँझ फुङ्लिङमा बजारमा नो केबलकार पक्ष र प्रहरीबिच झडप भएपछि परिस्थिति प्रतिकूल भएकाले निषेधाज्ञा जारी गर्नुपरेको सूचनामा उल्लेख छ । संवेदनशील र प्रतिकूल परिस्थितिका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । अाइतवार बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्म फुङलिङ बजार क्षेत्रसहित पूर्वतर्फ दोखु सल्लेरी, पश्चिमतर्फ घोचौंउ र थलङधार, उत्तरतर्फ उकाली पानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कन्चनजंघा टोलसम्म निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी मानिस जमघट हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउ जस्ता गतिविधि गर्न नपाउने भनिएको छ ।