रानी नाकाको हेल्थ डेस्क भवनको महानगरपालिकाका मेयर कोइराला द्धारा उद्घाटन

कुमोद अधिकारी
२५ असार,
विराटनगर ÷ सेभ द चिल्ड्रेनसँगको सहकार्यमा रानी नाकामा निर्माण गरिएको भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा आएको छ ।
मंगलबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । सो भवन महानगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त लगानी निर्माण गरिएको हो ।
जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूसँगै संक्रामक रोग पनि भित्रिने जोखिम भएका कारण नवनिर्मित भवनबाट नियमित चेकजाँच गरिनेछ । अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार हरेक प्रमुख नाकामा हेल्थ डेस्कको व्यवस्था गर्नुपर्ने हुन्छ । जसअन्तर्गत नेपाल सरकारको नीतिअनुसार महानगरले रानी नाकामा यसअघिदेखि नै महामारी नियन्त्रणका लागि हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो । विगतमा भवन नहुँदा टेन्टमार्फत सेवा सञ्चालन हुँदै आएको थियो ।
नेपाल सरकारले राज्यका प्रमुख नाकामा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरी यात्रुहरूको स्वास्थ्य परामर्श, परीक्षण, निदान वा प्रेषण सेवामार्फत संक्रामक रोगको नियन्त्रण र निवारणमा सहयोग पुग्ने विश्वास लिइएको छ । हाल पनि स्वास्थ्य सहायता कक्षमार्फत एचआईभी, एड्स, क्षयरोग, मलेरिया (औलो), कोभिडलगायतका संक्रामक रोगलाई प्राथमिकतामा राखेर चेकजाँच जारी राखिएको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नियमित र एकीकृत रुपमा कोभिड–१९, एचआईभी, क्षयरोग तथा औलोको परीक्षण र प्रारम्भिक उपचार हुनेछ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, विराटनगर वडा नम्बर १६ का अध्यक्ष उद्धव भुजेल, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीलगायतको उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा मेयर कोइरालाले नाकामा सुविधासम्पन्न भवन नहुँदा विगतमा स्वास्थ्य चेकजाँचमा समस्या देखिँदै आएको बताउनुभयो ।

उहाँले अब भवन निर्माण भएसँगै नेपाल प्रवेश गर्ने व्यक्तिहरूको नियमित चेकजाँच गरिने जानकारी दिनुभयो । मेयर कोइरालाले जनशक्तिसहित स्वास्थ्य उपकरण व्यवस्था गरिने बताउनुभयो । भविष्यमा आउन सक्ने महामारी नियन्त्रणमा नवनिर्मित हेल्थ डेस्कमार्फत समयमै संक्रमित व्यक्तिहरूको पहिचान गरी क्वारेन्टाइन तथा अस्पतालहरूमा उपचार गराउन सकिने स्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो । जसबाट अन्य व्यक्तिहरूमा संक्रमण हुनबाट जोगाउने उहाँको भनाइ छ ।
गत वैशाख १८ गते निर्माण सुरु भएको भवन असार २० गते सम्पन्न भएको थियो । महानगरपालिकाको २० लाख रुपैयाँ र सेभ द चिल्ड्रेनको १५ लाख ७६ हजार लागतमा निर्माण गरिएको भवनको चाबी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश सरकारका प्रतिनिधिको उपस्थितिमा सेभ द चिल्ड्रेन ग्लोबल फण्ड कार्यक्रमका प्रमुख दीपक पौडेलले मेयर कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । सेभ द चिल्ड्रेन ग्लोबल फण्डले महोत्तरीको जलेश्वर नगरपालिका मलिवारा भिट्टामोडमा समेत हेल्थ डेस्कका लागि भवन निर्माण गरेको पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *