विराटनगर, २८ असोज । पूर्व राष्ट्रपति डा रामबरण यादवले समाजको एकीकरणमा सबै जातजातिको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ । नागरिक अभिनन्दन समारोह समितिद्वारा आज विराटनगरमा आयोजित सामाजिक अभियन्ता एवं उद्योगपति दिनबन्धु गोयलको अभिनन्दन गर्दै उहाँले यस क्षेत्रको समाजको विकासमा पहाडी, मधेशी थारु एवं मारवाडी समुदायको महत्पूर्ण योगदानको रहेको विचार व्यक्त्त गर्नु भयो ।
पूर्व राष्ट्रपति डा यादवले भन्नु भयो –‘अभियन्ता गोयल एवं उहाँको परिवारले यस क्षेत्रमा सामाजिक , संस्कृति , शिक्षा, स्वास्थ्य, क्षेत्रमा गर्नु भएको महत्वपूर्ण योगदानको हृदयदेखि आभार प्रकट गर्दछु’ ।
उहाँले सम्पूर्ण समाजको मेलमिलापवाट नै सम्यता निर्माण हुने चर्चा गर्दै मेलमिलापको सभ्यताले मुलुकको सही विकासमा सहयोग पु¥याउने धारणा राख्नु भयो ।
अभिनन्दित व्यक्ति गोयलले गरीव विद्यार्थीलाई छात्रवृत्ति लगायत विभिन्न सङ्घसंस्थाहरुलाई सहयोग गर्न पाउँदा ज्यादै खुशी र शान्ति महशुस हुने गरेको अनुभव व्यक्त्त गर्नु भयो ।
समितिका अध्यक्ष सुरेशकुमार शर्मा, राजेन्द्र चापागाई,महावीर प्रसाद गोयल लगायतले ठूलो हृदयका धनी रहनु भएका गोयलको सहयोगवाट धेरै विद्यार्थीहरुले उच्च शिक्षा अभ्ययन गर्न सफल भएको बताउनु भयो ।
झापाको भद्रपुरमा विसं २००५ मा जन्मनु भएका र हाल विराटनगरलाई कर्मथलो बनाइ बस्नु भएका गोयललाई स्वदेश र विदेशका गरी २६८ सङ्घसंस्थाले अभिनन्दन गरेका छन ।
अभियन्ता गोयलले प्रत्येक वर्ष झापा, मोरङ, धनकुटा, सुनसरी, तेह्रथुम जिल्लाका एक हजार ५०० भन्दा वढी असाहय एवं जेहन्दार विद्यार्थीहरुलाई नगद रुपमा छात्रवृत्ति प्रदान गर्नुका साथै जेष्ठ नागरिक एक महिला, गौशाला, मठमन्दिर,अनाथआश्रम लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहनु भएको छ ।
अभियन्ता गोयलले मुलुकका विभिन्न शैक्षिक संस्था, धार्मिक, सामाजिक सङ्घसंस्थालाई निरन्तर रुपमा आर्थिक सहयोग पु¥याउँदै आउनु भएको र यो सङ्ख्या दिनप्रतिदिन वृद्धि हुदै गइरहेको छ ।
सामाजिक अभियन्ता गोयलले भद्रपुरको गौशाला, गणेश मन्दिर, रंगेलीको गौशाला, श्रीकृष्ण गौ सेवा सदन विराटनगर, अनाथआश्रम इटहरी, विराटेश्वर वुद्धाश्रम विराटनगर, विश्रान्ति मन्दिर मुलघाट धनकुटा, अनाथआश्रम काठमाडौ, विराटनगरको अष्ट चिरञ्जीवी मन्दिर, राधाकृष्ण मन्दिर, काली मन्दिर, झापाको कन्काई धारको लक्ष्मी नारायण मन्दिर, उर्लाबारीको हनुमान ट्रष्ट, झापाको मारवाडी समाज, नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर लगायतका करीव ३०० सङ्घ संस्थाहरुलाई सहयोग उपलव्ध गराउनु भएको छ ।