विराटनगर÷ विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको बैजनाथपुर स्वास्थ्यचौकीबाट प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ ।
प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बुधबार एक समारोहका बीच उद्घाटन गर्नुभयो । विराटनगर–१९ स्थित स्वास्थ्यचौकीबाट आसपासका स्थानीयलाई सेवा दिने उद्देश्यका साथ प्रयोगशाला सञ्चालनमा ल्याइएको मेयर कोइरालाले बताउनुभयो ।
“मैले चुनावी घोषणापत्रमै स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको थिएँ,” मेयर कोइरालाले भने, “सीमित स्रोत, साधन र जनशक्ति परिचालन गरेर स्वास्थ्य सेवालाई व्यापक बनाउँदै लानेछौं, त्यो काम प्रयोगशाला सञ्चालनमा आएसँग सुरु भएको छ ।” उहाले स्वाथ्यचौकीलाई अस्पतालका रुपमा चाँडै स्तरोन्नति गरिने जानकारी दिनुभयो । सामान्य रोगका बिरामीको उपचार स्वास्थ्यचौकीबाट हुने व्यवस्था मिलाउने उहाको भनाइ थियो ।
स्वास्थ्य चौकीबाट रेफर गरिएका बिरामीको सहुलियत दरमा उपचार गर्ने गरी विराटनगरका विभिन्न अस्पतालहरूसित सम्झौताका लागि कुरा गर्नेसमेत कोइरालाले बताउनुभयो । मेयर कोइरालाले सुगर, हेमोग्लोबिन, ब्लड ग्रुपिङलगायतका सेवा निःशुल्क उपलब्ध गराउनेसमेत जानकारी दिनुभयो । मेयर कोइरालाले ज्येष्ठ नागरिकको घर–घरमा गएर निःशुल्क स्वास्थ्य जाँच गर्ने योजनासमेत रहेको वताउनुभयो । उनले दीर्घरोगबाट पीडित ज्येष्ठ नागरिकको पहिचान गरेर महानगरले घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभयो ।
कार्यक्रममा विराटनगर वडा नम्बर १९ का वडाध्यक्ष श्याम घिमिरेले स्वास्थ्य चौकीलाई भौतिक रुपमा सुविधा सम्पन्न बनाउने बताउनुभयो । कोशी अस्पतालमा प्राप्त हुने सुविधा उपलब्ध गराउन सबैको साथ र सहयोग आवश्यक रहेको उहाको भनाई थियो े । वडाध्यक्ष घिमिरेले महानगर भएर पनि १९ नम्बर वडा मानव सूचांकमा पछाडि परेको बताउनुभयो । “महानगरपालिका भएर पनि विराटनगर १९ नम्बर वडा धेरै नै पछाडि परेको छ,” घिमिरेले भन्नुभयो, “अहिलेसम्म हामीले महानगर भएको प्रत्याभूति गर्न सकेका छैनौं । स्वास्थ्य चौकीलाई व्यवस्थित बनाएर सेवा विस्तार गर्न सकिएमा पक्कै पनि यो क्षेत्रको विकासमा सहयोग पुग्नेछ ।”
त्यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतले प्रयोगशालाबाट गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाले स्थानीय तह नजिकको सिंहदरबार भएकाले जनताका अपेक्षाअनुसार यसरी स्वास्थ्यचौकीहरूबाट सेवा उपलब्ध हुनु खुसीको कुरा भएको बताउनुभयो । प्रयोगशालालाई स्रोत, साधन र जनशक्ति कम हुन दिन नहुने उहाको सुझाव थियो । “महानगरको स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन प्रदेश स्वास्थ्य निर्देशनालय सहकार्य गर्न तयार छ,” प्रमुख बस्नेतले भन्नुभयो, “प्रदेशका तर्फबाट क्षमता अभिवृद्धि तालिमसहितका व्यवस्थापकीय क्षेत्रमा सहयोग गर्न तयार छौं ।”
सो अवसरमा स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, पूर्ववडाध्यक्ष बद्रीनाराययण सरदार, समाजसेवी बलबहादुर खवास, नेकपा माओवादी केन्द्रका स्थानीय शिवनारायण थनदारलगायतले यसअघि सञ्चालनमा ल्याइएको बर्थिङ सेन्टरलाई सुचारु गर्न एम्बुलेन्सको व्यवस्था गर्नुपर्नेमा जोड दिनु भएको थियो । महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले स्वास्थ्य चौकीबाट बुधबारदेखि नै हेमोग्लोबिन, ब्लड गु्रपिङ र सुगरको निःशुल्क जाँच सुरु भएको उल्लेख गर्नुभयो । स्थानीयको माग र आवश्यकताअनुसार अन्य सेवा पनि थप्दै जाने अलिले बताउनुभयो । पहिलो दिन ६७ जनाको परीक्षण गर्दा ७ जनाको सुगर बढेको र ४ जनाको रगतको मात्रा कमी देखिएको महाशाखा प्रमुख अलिले जानकारी दिनुभयो ।