विराटनगर, कात्तिक २४ गते । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका कुनै पनि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन २०८० जारी गरेको छ । स्थानीय राजपत्रमा प्रकाशित गर्दै महानगरपालिकाले १२ औँ नगर सभाबाट जारी ऐनलाई कार्यान्वयनमा ल्याउँदै सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवनमा निषेध गरेको हो । प्रकाशित ऐन अनुसार अब विराटनगर महानगरपालिका क्षेत्रको सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवन निषेध गरिएको छ । महानगरपालिकाले चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, गुट्खा, सुर्ती वा यस्तै प्रकारका पदार्थको नशा लिनेका लागि समेत कानुनबमोजिम कारबाही हुने गरी ऐन जारी गरेको हो ।
ऐनको परिच्छेद ५ को दफा १२ मा कसैले ऐनविपरीत सार्वजनिक स्थलमा धूमपान वा सुर्ती सेवन गरेमा तोकिएका निरीक्षकले सजाय गर्न सक्ने प्रावधान समेटिएको छ । जसमा कसैले सुर्तीजन्य पदार्थको सेवन गरे तत्काल रोक लगाउने, नमानेमा वा पटक पटक गरेमा सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक हजार रुपियाँसम्म जरिवाना भराइने छ । यसै गरी सार्वजनिक स्थलसँग सम्बन्धित व्यक्ति वा कर्मचारीले सुर्तीजन्य पदार्थ सेवन गरेमा निजको सेवा सर्तसम्बन्धी कानुनबमोजिम अनुशासनमा नरहेको वा अन्य विभागीय कारबाही भागीदार बनाउने उल्लेख छ । यसै गरी परिच्छेद ३ को दफा ७ मा बिक्रीवितरण निषेध गर्ने प्रावधान उल्लेख गरिएको छ ।
जसमा महानगरपालिका क्षेत्रभित्र पान र पानमा प्रयोग हुने मसलाबाहेक अन्य वस्तुलाई बिक्रीका लागि निषेध गर्ने उल्लेख छ । दफा ९ मा कसैले पनि सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट गर्न नपाउने उल्लेख छ । कुनै पनि तरिकाबाट सुर्तीजन्य वस्तुको प्रदर्शनसमेत गर्न पाइने छैन । त्यसबाहेक विज्ञापनलगायतका कुनै पनि प्रचारसमेत महानगरपालिका क्षेत्रमा निषेध गरिएको छ ।
महानगरपालिकाको ऐन अनुसार बिक्रीवितरण गर्न निषेध गर्दै दफा ९ मा प्रदर्शनमा बन्देज लगाइएको छ । ऐनको दफा ७ र ९ मा राखिएको यो प्रावधानविपरीत भएमा पहिलो पटक १० हजार, दोस्रो पटक भए ३० हजार र तेस्रो पटक भए ५० हजार रुपियाँ जरिवाना र दर्ता खारेज गर्न सकिने उल्लेख छ । दफा १२ को उपदफा ९२० बमोजिम उल्लेखित जरिवानाबापत लिएको रकम महानगरपालिकाको सञ्चित कोष खातामा सञ्चित गर्नुपर्ने छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी विराटनगर महानगरपालिकको नगर सभाले यो ऐन जारी गरेको थियो । ऐन जारी भए पनि राजपत्रमा प्रकाशित नहुँदा कार्यान्वयनमा समस्या रहेको थियो । ऐन जारीसँगै महानगरपालिका क्षेत्रभित्र सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण, सेवन र प्रदर्शनमा समेत निषेध गरिएको छ ।