विराटनगरका पूर्व उपप्रमुख कार्कीसहित सबैलाई भ्रष्टाचार मुद्दामा सफाइ

विराटनगर, कात्तिक २४ गते । विराटनगर महानगरपालिकाका पूर्व उपप्रमुख इन्दिरा कार्कीसहित सबै नौ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाको पूर्व उपप्रमुख कार्की, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, तत्कालीन वडाध्यक्ष असलम आलम, सहरी विकास महाशाखाका प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान, सब–इन्जिनियर मोहम्मद इफतेखार आलम, पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव साहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेविरुद्ध झन्डै डेढ वर्ष अगाडि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले दायर गरेको उक्त मुद्दाको फैसला गर्दै विशेष अदालतले विपक्ष सबैलाई निर्दोष ठहर गरेको हो ।

विराटनगर महानगरपालिका– १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क सिँढी निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धानपछि आयोगले भ्रष्टाचार भएको निष्कर्षसहित विशेषमा मुद्दा दायर गरेको थियो । पोखरीमा पार्क निर्माण कार्यमा उपभोक्ता समितिबाट वास्तविक रूपमा भए गरेको कार्यभन्दा बढी विवरण नापी किताबमा चढाई अनियमितता गरेको पाइएको अख्तियारको दाबी थियो । यस्तै अख्तियारले मेसिन प्रयोग गरेर भएको कामको भुक्तानी ज्यामीबाट भएको विवरण उल्लेख गरी भ्रष्टाचार गरेको दाबी गरेको थियो ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, गोपाल पोखरेल, पुष्पक प्रधान र मो। इफतेखार आलमलाई १० लाख ५५ हजार ९७९ रुपैयाँ ४८ पैसा बिगो कायम गरी बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपरको माग दाबी सहित आरोप पत्र दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *