कुमोद अधिकारी विराटनगर
भाद्र ३० शनिवार
नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको कृषि क्षेत्रमा सार्वजानिक नीजि साझेदारी सम्वाद कार्यक्रम आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासघ कोशी प्रदेशको अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अध्यक्ष राउतले कोशी प्रदेशमा कृषि क्षेत्रको विकासमा निजी क्षेत्रको साझेदारी आवश्यक रहेको बताउनु भएको थियो ।
उक्त सम्वाद कार्यक्रममा अध्यक्ष राउतले कृषि क्षेत्रमा आवश्यक पर्ने स्रोत साधन र शीप तथा उपकरणहरुको विकास र विस्तारमा निजी क्षेत्र सहयोग गर्न निजी क्षेत्र तयार रहेको बताउनु भयो ।
कार्यक्रममा मकालू एग्रो एण्ड फुडका सञ्चालक नितेश कार्कीले जूम्लाबाट स्याउ ल्याएर बजारीकरण गर्न थालिएको आयातित स्याउको गुणस्तर बारे नियमन हुनु पर्ने बताउनु भयो । कृषि अभियन्ता जीवन प्रकाश राईले कृषि उपजमा अनुसन्धान र प्रचारसंगै हुनु पर्ने उल्लेख गर्नु भयो । धरान कृषि बजारका प्रबन्धक लक्ष्मण भट्टराईले बजारकिरणको लागि उद्यमीहरुले कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयो । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौलाले कृषिमा यूवाहरुलाई आकर्षित गर्न सके कृषिमा व्यवसायीकरण हुन सक्ने बताउनुभयो । मत्स्य व्यवसायी विष्णु आचार्यले आयातित माछाका कारण यहाँका माछा व्यवसायीहरु मर्कामा परेको समेत बताउनु भयो । सनम कृषि फार्म पाँचथरकी सञ्चालिका जुनु लावतीले नीजि क्षेत्रको लगानीमा सरकारले सहकार्य गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले सार्वजनिक निजी साझेदारी संवादमा उठेका महत्वपूर्ण सुझावहरुलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । वहाँले उत्पादन लागत कम भएका कृषि उपजको मुल्य निर्धारणमा ध्यान दिन सकिए त्यसको बजारिकरणको सम्भावना अझै धेरै बढ्ने जानकारी दिनु भएको थियो । सचिव दाहालले निजी क्षेत्रको पूँजी र प्रविधि परिचालन गर्न प्रदेश सरकार तयार रहेको बताउनु भएको थियो ।
कार्यक्रममा कृषि विज्ञ डा.राजेन्द्र उप्रेतीले कोशी प्रदेशमा कृषि क्षेत्रको विकासमा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यका सम्भावनाबारे कार्यपत्र मार्फत अवसरहरु औंल्याउनु भएको थियो । वहाँले कृषि प्रविधी विकास र प्रसारमा दुई पक्षबीच साझेदारी हुनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी कृषि वस्तुको उत्पादन, प्रशोधनमा निजी क्षेत्रको साझेदारी बढेको खण्डमा वस्तुको प्रतिष्पर्धी क्षमता बढ्ने र व्यवसाय पनि फस्टाउने दाबी गर्नु भएको थियो । साथै परम्परागत रुपमा भइरहेका कृषि वस्तुको उत्पादनलाई विविधीकरण गर्न सकिए त्यस्ता वस्तुको मूल्य श्रृंखला अझ बढेर जाने र उत्पादक किसानले धेरै लाभ लिनसक्ने बताउनु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका कृषि क्षेत्र सम्वद्ध कृषि उद्यमी, साना व्यवसायी किसान, उद्योग बाणिज्य महासंघका पदाधिकारी र सदस्यहरु साथै विभिन्न जिल्ला नगर उद्योग बाणिज्य संघका पदाधिकारीहरु लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कृषि क्षेत्रसंग सम्बद्ध ६० उद्यमीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहभागिहरुले सार्वजनिक निजी क्षेत्रबीच इमान्दार र पारदर्शी सहकार्य हुन सकेमा कोशी प्रदेशको कृषि क्षेत्रको व्यवसायिक प्रवद्र्धन हुने बताउनु भयो ।