पहिलो वरीयताको पाकिस्तानसँग आज एसिया कपमा पहिलो खेल खेल्दै नेपाल

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज देखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तानसँग भिडन्त गर्दैछ ।

एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ ।

नेपालको तुलनामा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बोकेको पाकिस्तान शक्तिशाली टेस्ट राष्ट्र पनि हो । अहिले पनि पाकिस्तानी खेलाडीको नाममा विश्व क्रिकेटका थुप्रै कीर्तिमान छन् ।

एसिया कप सुरु हुनुभन्दा केहीअघि मात्र पाकिस्तान आईसीसी एकदिवसीय वरियताको पहिलो स्थानमा उक्लिएको छ ।

नेपाल भने आईसीसी एकदिवसीय वरियताको १५औं स्थानमा छ । यसपटक एसिया कपमा सहभागी ६ राष्ट्रमध्ये नेपाल सबैभन्दा तल्लो वरियतामा रहेको छ । यसका अतिरिक्त पाकिस्तानले मुल्तानस्थित घरेलु मैदानमा प्रतियोगिता खेल्ने अवसर पाएको छ भने नेपालका लागि रंगशालाको चरित्र पनि नौलो हुनेछ ।

यी सम्पूर्ण तथ्याङ्क र परिस्थितिले के देखाउँछ भने, बुधबार हुने एसिया कपको उद्घाटन खेलमा पाकिस्तानका लागि नेपाल निकै कमजोर प्रतिद्वन्द्वी हो । कम्तिमा पनि इतिहासले यही भन्छ ।

यो एसिया कपको समूहगत चरणमा नेपालका दुबै प्रतिद्वन्द्वी उस्तै छन् । समूह ‘ए’ मा रहेको नेपालको दोस्रो प्रतिद्वन्द्वी भनेको भारत हो । दुई पटकको एकदिवसीय विश्वकप विजेता र सर्वाधिक सात पटकको एसिया कप च्याम्पियन हो, भारत । विश्व क्रिकेटकै हस्ती भारतसँग नेपालले भदौ १८ गते श्रीलंकाको केन्डीमा आफ्नो दोस्रो खेल खेल्नेछ ।

आजभन्दा ४८ वर्षअघि सन् १९७५ मा भारत र पाकिस्तान एकदिवसीय विश्वकपको पहिलो संस्करण खेलिरहेका थिए । त्यतिबेला नेपाली क्रिकेट भने आफ्नै देशको सानो आकाशभित्र अल्झिएको थियो । नेपाली क्रिकेटले सन् १९९६ मा आएर आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो ।

नेपाली टोलीले सन् १९९६ को सेप्टेम्बर ६ तारिखमा मलेसियामा औपचारिक रुपमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । त्यो एसीसी ट्रफी क्रिकेट प्रतियोगिता थियो । यस हिसाबले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको भर्खर २७ वर्ष पुग्दैछ ।

नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुअघि नै भारत र पाकिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको उपाधि नै चुमिसकेका थिए । यसबाट पनि अनुमान गर्न सकिन्छ, विश्व क्रिकेटमा यी दुई राष्ट्रको इतिहास कति गौरवशाली छ भनेर । सिया कप क्रिकेटकै स्थापना पनि नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभन्दा निकैअघि भएको थियो । एसिया कपको पहिलो संस्करण सन् १९८४ मा आयोजना भएको थियो । यी यावत तथ्यहरुले एसिया कपको १६औं संस्करणमा नेपाली टोलीको अवस्था के हो भन्ने स्पष्ट पार्छ ।

यसको अर्थ, एसिया कपमा नेपालको सहभागिता केवल औपचारिकतामै सीमित हुन्छ भन्ने पनि होइन । खासमा ‘यो एसिया कपमा नेपालसँग गुमाउनका लागि केही छैन । हात पार्नका लागि खातका खात उपलब्धिहरु छन् ।’ अर्थात्, पहिलो पटक सहभागिता जनाइरहेको नेपालले यसपटक एसिया कपमा जुन सफलता हात पार्छ, ती सबै ऐतिहासिक हुनेछ ।

एसिया कप खेल्न पाकिस्तान प्रस्थान गर्नुअघि नेपाली टोलीका कप्तान रोहित पौडेलले भनेका थिए, ‘क्रिकेट अनिश्चितताको खेल हो । त्यसैले, एसिया कपमा नतिजा जे पनि आउन सक्छ ।’

यसो भनिरहँदा नेपाली कप्तानले न्युजिल्यान्डजस्तो बलियो राष्ट्रले संयुक्त अरब मिरेट्स ९यूएई०सँग भोगेको नमिठो पराजयतर्फ इङ्गित गरेका थिए । खासमा एसीसी प्रिमियर कपमा यूएईलाई नै हराउँदै नेपाल एसिया कपमा छनोट भएको थियो ।

यसपटक एसिया कपमा नेपाली टोलीको मनोबल उच्च छ र तयारी पनि कमजोर छैन । त्यसैले, बलियो आत्मविश्वास बोकेर पाकिस्तानविरुद्घ मैदानमा ओर्लिए नतिजा सोचेभन्दा फरक नआउला भन्न सकिन्न । कप्तान रोहितले भनेजस्तै, ‘इतिहास नै सबै थोक होइन । निश्चित खेलमा जुन टोलीले उत्कृष्ट प्रदर्शन गर्छ, खेल त्यसैले जित्ने हो ।’

विश्लेषणको अर्को पाटो पनि छ । आखिर किन पहिलो पटक एसिया कप खेल्न लागेको राष्ट्र नेपाललाई भारत र पाकिस्तानजस्ता बलिया राष्ट्रहरुले गम्भीर रुपमा लिएका छन् त रु किन भारत र पाकिस्तानका सञ्चारमाध्यमहरु आफ्ना खेलाडीलाई नेपालसँग सचेत रहन सुझाइरहेका छन् यसको पछाडि पनि एउटा महत्वपूर्ण कारण छ । माथि उल्लेख गरिएजस्तै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा जति पनि सफलता हात पारेको छ, त्यो केवल २७ वर्षको छोटो अवधिमा हासिल गरेको हो । छोटो अवधिमै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै टीट्वान्टी विश्वकपसम्म खेल्न भ्याइसकेको छ ।

यतिमात्र होइन, नेपाली क्रिकेटले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आईसीसीबाट एकदिवसीय टोलीको मान्यतासमेत पाइसकेको छ । कुनै समय यूएई, हङ्कङजस्ता राष्ट्रहरु एसिया कप खेल्थे । तर, अहिले नेपाली टोलीले यी राष्ट्रहरुलाई अधिकांश प्रतियोगितामा हराउन थालेको छ ।

त्यसैले, अन्तर्राष्ट्रिय क्रिकेटमा छोटो समयमा हासिल गरेको महत्वपूर्ण उपलब्धिहरुका कारण अहिले विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसमेत नेपाली टोलीसँग त्रसित देखिएका छन् । एसिया कपजस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा बलिया विपक्षीहरुलाई मानसिक रुपमै दबाब दिन नेपालका लागि यो महत्वपूर्ण हतियार पनि हो ।

नेपाली टोलीको सबल पक्ष
अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको सबैभन्दा बलियो पक्ष भनेको बलिङ हो । बलिङलाई नै बलियो हतियारको रुपमा प्रयोग गर्दै नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हात पारेको छ । नेपाली टोलीमा सन्दीप लामिछाने र करण केसीजस्ता अनुभवी बलर छन् ।

लेग—स्पिनर सन्दीपसँग अन्तर्राष्ट्रिय स्तरमा थुप्रै फ्रेन्चाइज लिग खेलेको अनुभव पनि छ । कतिपय फ्रेन्चाइज लिगमा उनले वर्तमान भारतीय र पाकिस्तानी टोलीका खेलाडीसँगै पनि खेलेका छन् । २३ वर्षीय सन्दीपले हालसम्म ४९ वटा एकदिवसीय प्रतियोगिता खेलेर एक सय ११ विकेट लिइसकेका छन् । एकदिवसीय प्रतियोगिताको एउटै खेलमा उनले ११ रन खर्चिएर ६ विकेट लिएको इतिहास छ ।

अर्कोतिर ३१ वर्षीय करण पनि नेपाली टोलीका अनुभवी बलर हुन् । उनीसँग पनि नेपालका लागि थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको अनुभव छ । उनले हालसम्म देशका लागि ४६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर ७३ विकेट लिएका छन् । उनले एउटै एकदिवसीय खेलमा ३३ रन दिएर पाँच विकेट लिएको इतिहास छ ।

यसका अतिरिक्त सन्दीप र करण टोलीलाई आवश्यक्ता पर्दा गतिलो ब्याटिङ पनि गर्न सक्छन् । एकदिवसीय क्रिकेटको एउटै खेलमा करणले ४२ रन पनि बनाएका छन् । सन्दीपले पनि एकदिवसीय क्रिकेटको एउटै खेलमा अविजित ३५ रनसम्म बनाएका छन् ।

यसैगरी, पछिल्लो समय नेपाली टोलीको ब्याटिङमा पनि सुधार आएको देखिन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सधैँ ब्याटिङ कमजोर देखिएपछि यसपटक नेपाली टोलीको ब्याटिङ सुधारका लागि पनि निकै प्रयास गरिएको छ । प्रशिक्षक मोन्टी देशाईले एसिया कपअघि आफ्नो बढी ध्यान ब्याटिङ सुधारमै केन्द्रीत गरेका छन् ।

यसैगरी, पछिल्लो समय नेपाली टोलीले निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्ने अवसर पाएको छ । घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कप, जिम्बाबेमा सम्पन्न एकदिवसीय विश्वकप छनोट प्रतियोगिता, श्रीलंकामा सम्पन्न इमर्जिङ टिम्स एसिया कप यसैको उदाहरण हुन् ।

यी प्रतियोगिताहरुमा नेपालले आफूभन्दा बलिया प्रतिद्वन्द्वीहरुसँग पनि प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो । जिम्बाबे, वेस्ट इन्डिज, आयरल्यान्डजस्ता टोलीसँग पनि नेपालले गतिलो ब्याटिङ गरेको छ । अधिकांश खेलमा दुई सय ५० को औसतमा रन बनाएको छ ।

नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरीजस्ता अनुभवी ब्याट्सम्यान छन् । ५२ वटा एकदिवसीय खेल खेलेका कप्तान रोहितले एक हजार चार सय ६९ रन बनाएका छन् । एकदिवसीय खेलमा उनको उच्च स्कोर एक सय २६ रन हो । उनले आठवटा अर्धसतक पनि प्रहार गरेका छन् ।

यसैगरी, कुशल भुर्तेलले ४४ वटा एकदिवसीय खेल्दै नौ सय ८६ रन बनाएका छन् । एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन एक सय १५ रन हो । एकदिवसीय खेलमा उनले ६ वटा अर्धसतक पनि प्रहार गरेका छन् ।

उता, दीपेन्द्रसिंह ऐरीले पनि ५० वटा एकदिवसीय खेल्दै आठ सय ५७ रन बनाएका छन् । उनको उत्कृष्ट प्रदर्शन एक सय पाँच रन हो । एकदिवसीय खेलमा उनले तीनवटा अर्धसतक पनि हिर्काएका छन् । यसका अतिरिक्त रोहित, कुशल र दीपेन्द्र बलर पनि हुन् ।
००००
नेपाली टोलीको कमजोर पक्ष
नेपाली टोलीको सबैभन्दा कमजोर पक्ष भनेको अन्तर्राष्ट्रिय अनुभवको कमी हो । पक्कै पनि नेपाली टोलीले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छ । तर, भारत, पाकिस्तान, श्रीलंकाजस्ता बलिया टोलीसँग एकदिवसीय प्रतियोगिता खेलेको अनुभव नेपाली खेलाडीसँग छैन ।

पाकिस्तानसँगै पनि नेपालले पहिलो पटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेकै भर्खर पाँच वर्ष पुग्दैछ । नेपाली टोलीले सन् २०१८ को अगस्त १ तारिखमा नेदरल्यान्ड्सविरुद्व पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । त्यसैले, यसपटक एसिया कपमा नेपालको सबैभन्दा कमजोर पक्ष भनेकै अन्तर्राष्ट्रिय अनुभवको कमी हो ।

यसैगरी, असन्तुलित ब्याटिङ नेपालको अर्को कमजोर पक्ष हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको ब्याटिङ प्रायः कमजोर देखिन्छ । कुनै खेलमा ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्छन् । तर, त्यसलगत्तै अर्को खेलमा नेपालको ब्याटिङ खस्किन पुग्छ ।

खासगरी, नेपालको माथिल्लो क्रममा ब्याट्सम्यानहरु क्रिजमा लामो समय टिक्न सकेको पाइँदैन । माथिल्लो क्रमका ब्याट्सम्यानबीच ठूलो साझेदारी हुन नसक्दा नै टोलीको स्कोर सम्मानजनक स्थितिसम्म पुग्न सक्दैन । त्यसैले, यसतर्फ नेपाली टोलीको ध्यान जानु आवश्यक देखिन्छ ।

एसिया कप खेल्ने नेपाली टोली
पहिलो पटक एसिया कप खेल्न नेपाल क्रिकेट संघ ९क्यान० ले कप्तान रोहित पौडेलको नेतृत्वमा १७ सदस्यीय टोलीको घोषणा गरेको छ । घोषित टोलीमा आशिफ शेख ९विकेटकिपर०, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देशाई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *