मुलुकको संवृद्धि, सुशासन र संविधान कार्यान्वयनका लागि मुख्य दल मिल्नु पर्ने अध्यक्ष ओली

कुमोद अधिकारी८ भदौ, २०८०

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले मुलुकको संवृद्धि, सुशासन र संविधान कार्यान्वयनका लागि मुख्य दल मिलेर जानुपर्ने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बढ्दो तस्करी, भ्रष्टाचार तथा राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक विकासमा वाधा पुगेकाले पनि मुख्य राजनीतिक शक्ति मिल्नुको विकल्प नभएको बताउनुभयो ।

उहाँले प्रमुख दल मिलेर जिम्मेवारवोधका साथ अघि बढ्नुपर्ने पक्षमा एमाले रहेको उल्लेख गर्नुभयो । मुलुकमा देखिएको तस्करी, भ्रष्टाचार तथा बेतिथिका कारण अर्थतन्त्रमा वाधा पुगिरहेकाले त्यसलाई रोक्नु आवश्यक रहेको उहाँको भनाई थियो ।

नेकपा एमालेको ध्यान सरकार बनाउनेतर्फ नभई मुलुकको समस्या समाधान गर्ने तर्फ रहेको उहाँले बताउनुभयो ।

एक प्रश्नमा उहाँले कोशी प्रदेश सरकारको गठनका विषयमा सत्ता गठबन्धन दलहरूले गरेको अलोकतान्त्रिक निर्णयका कारण यो अस्थिरता आएको बताउनुभयो । उहाँले कोशी प्रदेशमा भइरहेको सरकार ढाल्न सभामुखलाई राजीनामा गर्न लगाउने सभामुख जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिलाई मत हाल्न लगाउने जस्ता कार्य गरेर गठबन्धन दलले संविधान मिच्ने काम गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले सत्ता प्राप्तिका लागि नेपाली कांग्रेस जस्तो लोकतन्त्र मान्ने सबैभन्दा पुरानो पार्टी पटक पटक यस्तो गल्ती गर्न नसुहाउने बताउनुभयो । उहाँले अव कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने र त्यो सरकारले कोशी प्रदेशमा रहेका ५० बढी प्रदेशसभा सदस्यको बहुमत समर्थन पाउने दाबी समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *