कुमोद अधिकारी, विराटनगर
साउन ५ सुक्रवार
तराई मधेश हरित अभियान कार्यक्रम मोरङ जिल्लामा प्रभावकारी बन्दै गएको छ । डिभीजन वनकार्यालय मोरङले यो कार्यक्रम संचालनमा ल्याएसंगै खालीपर्ती तथा नदी उकासजग्गा साथै वनक्षेत्रका खाली जग्गा हराभरा हुन थालेका छन ।
अभियान अन्तर्गत यो वर्ष अहिले सम्म ४० हेक्टर भन्दा बढि जग्गामा वृक्षारोपण भइसकेको छ । अभियान अन्तर्गत निजी तथा डिभिजन वन कार्यालयको मातहतमा रहेका २० वटा नर्सरी मार्फत किसान तथा सामुदायिक वनहरुलाई निशुल्क रुपमा विरुवा उपलव्ध गराउदै आएको सो कार्यालयका सहायक वनअधिकृत रामलखन ठाकुरले बताउनुभयो ।
कार्यालयले यो वर्ष साढे ९ लाख विरुवा उत्पादन गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये २ लाख ८० हजार वहुवर्षे विरुवा आगामी वर्ष वृक्षारोपणका लागि कार्यालयले स्टकमा राखेको छ ।
विभिन्न नर्सरी मार्फत अहिले साढे ६ लाख विरुवा वितरण गर्ने कार्य भइरहेको छ । यो वर्ष निजि किसानले एकलाख २५ हजार विरुवा उत्पादन गरेका छन । सामुदायीक तथा साझेदारी वनहरुले वन क्षेत्रको खाली तथा नदी उकास जग्गामा वृक्षारोपण गरिरहेका छन । सहायक वन अधिकृत ठाकुरका अनुसार सहरीक्षेत्रलाई स्वच्छ एंव हराभरा बनाउन स्थानियतहसंग समन्वय गर्दै वृक्षारोपण कार्यलाई अघि बढाइएको छ । वडा कार्यालयहरुसंग समन्वय गर्दै विभिन्न प्रजातीका विरुवा सहरी क्षेत्रका सडक तथा आवश्यक स्थानमा रोप्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

कार्यालयले विभिन्न नर्सरी मार्फत कदम टिक मसला, सतीसाल, कर्मा, खयर, इपिल, मलेसियनसखूवा , तेजपात जातका साथै आँप, लिच्ची कागती लगायता फलफुलका विरुवा निशुल्क वितरण गर्दै आएको छ ।
डास मोरंगी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मदन पोखरेलले राष्ट्रिय वनभन्दा टाढा रहेका उपभोक्तालाई त्यहि आत्मनिर्भर बनाउन र वनक्षेत्रमा रहेका वन्यजन्तुको आहारालाई केन्द्रित गर्दै विरुवा लगाउने कार्य भइरहेको बताउनुभयो । जंगल भित्र रहेका वन्यजन्तु आहारका लागि वनक्षेत्र भन्दा बाहिर राजमार्गका सडकमा निस्कदा बढि दुर्घटना हुने गरेकाले वन्यजन्तुलाई केन्द्रित गर्दै वनक्षेत्रमा फलफुलका विरुवा समेत लगाएको उहाँको भनाई छ । डिभिजन वन कार्यालयले यसरी लगाइएका विरुवा संरक्षणगर्ने तथा हुर्काउने जिम्मा स्थानिय समुदायलाई दिएको छ ।

गत आर्थिक वर्ष विरुवा उत्पादनको बजेट कटौती भएर आएकाले समस्या भएको कार्यालयले जनाएको छ । विरुवा उत्पादन गर्दा कतिपय प्र्रजातीका विरुवा महँगो मुल्यमा खरिद गर्नुपर्ने भएकाले बजेट कमहुँदा समस्या हुने गरेको कर्मचारीहरु बताउछन ।
अभियान अन्तर्गत नदी कटान तथा भुक्षय नियन्त्रणगर्न नदी किनारमा बाँसका विरुवा रोप्ने कार्य समेत भएका छन । नर्सरीमा उत्पादन भएका बाँसका विरुवा सामुदायीक वनतथा निजी किसानलाई उपलव्ध गराउदै कटान हुन सक्ने जोखिपुर्ण स्थानमा बाँसका विरुवा रोपिएको कार्यालयले जनाएको छ ।