१० असोज, विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व आजदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म मनाइन्छ । बडा दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ ।
यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसाद सितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ ।
घटस्थापनाको साइत बिहान १०ः २३ बजे
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान १०ः२३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
नौ दिन नौ दुर्गाको पूजा
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।