असोज ९ गते । सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बिहीबार रातिदेखि लागातार रूपमा आएको पानीका कारण कोशी ब्यारेजमा बहाव बढेको हो ।
सवा २ बजेको पछिल्लो मापन अनुसार नदीमा पानीको बहाव दुई लाख ४० हजार ५५५ क्युसेक पुगेको छ । पानीको बहाब खतरा तहमा पुगेकाले ३० वटा ढोका खोलिएको कोशी ब्रेज कन्ट्रोल रुमले जनाएको छ । कोशी ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दै गएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
पानीको बढ्दो बहावलाई ध्यानमा राख्दै कोशी नदी आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले जानकारी दिनुभयो ।
नदी किनार, तल्लो तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा रहेका बासिन्दाले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानतर्फ जान आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको अर्यालको भनाइ छ ।
पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले सम्बन्धित निकायले नदीको अवस्था निरन्तर निगरानी गरिरहेका छन् । ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।