विराटनगरका दुई घरबाट तस्करीकाे ४१ बोरा केराउ र चनाको दाल बरामद

विराटनगर । भारतबाट अवैध रूपमा भित्र्याइएको केराउ र चनाको दाल घरमा लुकाएर राखिएको अवस्थामा सशस्त्र प्रहरीले विराटनगर–१७ बाट ४१ बोरा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीको टोलीले शुक्रबार बिहान दुईवटा घरमा छापा मारेर १६ बोरा केराउ र २५ बोरा चनाको दाल नियन्त्रणमा लिएको जनाएकाे छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश शर्माको कमान्डमा खटिएको ३० जनाको टोलीले मटेर्वाका मो. मुन्ना मियाँको घरबाट ११ बोरा केराउ तथा अंगुरी खातुनको घरबाट २५ बोरा चनाको दाल र पाँच बोरा केराउ बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद सामान मुन्ना मियाँका भिनाजु गुड्डु मियाँको रहेको खुलेको छ । गुड्डुले भारतबाट भरियामार्फत सामान ल्याएर मटेर्वाका विभिन्न घरमा भण्डारण गर्ने र त्यसपछि क्रमशः विराटनगर बजारतर्फ पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतबाट अवैध रूपमा खाद्यान्नलगायत सामान भित्र्याएर घरमा भण्डारण गरिएको सूचना पाएपछि सशस्त्र प्रहरीको टोली मटेर्वा पुगेको थियो । घर खानतलासी गर्दा ठूलो परिमाणमा केराउ र चनाको दाल फेला परेको हो ।

सीमावर्ती क्षेत्रमा भारतबाट भन्सार छलेर खाद्यान्नलगायत वस्तु भित्र्याउने क्रम रोक्न सशस्त्र प्रहरीले निगरानी बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *