लगातार तेस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि महालक्ष्मी नगरपालिकाले जित्यो

धनकुटाको साँगुरीगढी गाउँपालिकामा सम्पन्न भएको १६ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ को उपाधि महालक्ष्मी नगरपालिकाले हात पारेको छ । महालक्ष्मी नगरपालिकाले ३२ स्वर्ण, २६ रजत, २२ कास्य पदक ल्याई विजेता बनेको हो । साँगुरीगढी गाउँपालिकाको व्यवस्थापन तथा प्रायोजन तथा भानु मावि डाँडाबजारको संयोजनमा सम्पन्न भएको प्रतियोगितामा जिल्लाका अन्य ६ वटा स्थानीय तहलाई पछि पार्दै महालक्ष्मी नगरपालिकाले उपाधि जितेको हो । महालक्ष्मीले योसँगै तेस्रो पटक विजेता बन्दै राष्ट्रपति रनिङ्ग शिल्ड सँधैका लागि आफ्नो बनाउन सफल भएको आयोजक संस्था जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नविन प्रधानले जानकारी दिनुभयो ।
यस्तै धनकुटा नरपालिकाले १६ स्वर्ण, १३ रजत, १३ कास्य पदक जितेर दोस्रो र चौबिसे गाउँपालिकाले १० स्वर्ण, ८ रजत, ४ कास्य पदक जितेर तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल स्थानीय तहका विद्यालयका खेलाडीहरूलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले पुरस्कार तथा शिल्ड वितरण गर्नुभएको थियो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ भएको प्रतियोगितामा धनकुटाका ७ वटै स्थानीय तहका करिव ५०० खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा ६६ स्वर्ण पदकका लागि एथलेटिक्स, भलिवल, कवड्डी, कराते, उसु, तेक्वान्दो खेलमा प्रतिस्पर्धा भएको थियो ।
यसअघि भएको चौबिसे गाउँपालिकाको संयोजन तथा राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको पन्ध्रौं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ मा महालक्ष्मीले ३१ स्वर्ण, २५ रजत र ८ कास्यसहित पहिलो स्थान प्राप्त गर्दै शिल्ड हात पारेको थियो । यस्तै धनकुटाको महालक्ष्मी नगरपालिकास्थित दमार खेल मैदानमा सम्पन्न भएको चौधौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० मा महालक्ष्मीले ३३ स्वर्ण २१ रजत २७ काश्य सहित कुल ८१ पदक प्राप्त गरी पहिला स्थान ओगटेको थियो । १८ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ को संयोजन धनकुटा नगरपालिकाले गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *