धनकुटा, ६ बैशाख । ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन–७’ को फाइनलमा तिन विधामा ४ जना विजेता बनेका छन् । गायनतर्फ एक जना, नृत्य जुनियरतर्फ एक जना र नृत्य सिनियरतर्फ दुई जना विजयी बनेका हुन् । गायनतर्फ झापाका सुज्ञान खनाल, नृत्य जुनियरतर्फ झापाकी सुम्निमा राई र नृत्य सिनियरतर्फ पाँचथरका शिशिर नेम्वाङ र सेमिना लिम्बू विजयी भएका छन् । धनकुटा नगरपालिका–५ स्थित तल्लो टुँडिखेलमा शनिबार राति सम्पन्न प्रतियोगितामा प्रतिष्पर्धीलाई पछि पार्दै उनीहरु विजेता भएका हुन् ।
यसैगरी, गायनतर्फ पाँचथरका पबन राई दोस्रो र झापाकी दिव्या लाम्गादे तेस्रो भएका छन् । नृत्य जुनियरतर्फ झापाकी समता श्रेष्ठ दोस्रो र पाँचथरका याण्ङछुम जवेगु र सोनाक्षी मगर पाँचथर तेस्रो स्थान प्राप्त गरेका छन भने नृत्य सिनियरतर्फ मोरङकी गरिमा मगर द्धितिय र कल्चर भाइब्स ग्रुप धनकुटा र पाचँथरकी चाँदनी जवेगु तृतिय बन्न सफल भए ।
टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटा र रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगिताको फाइनलमा गायनतर्फ १४, नृत्य सिनियरतर्फ ९ र जुनियरतर्फ ८ जना प्रतिस्पर्धी सहभागी रहेको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत गायनतर्फ प्रथम हुनेलाई नगद ५ लाख रुपैयाँसहित सोही बराबरको जीवन बीमा प्रिमियम, म्युजिक रेकर्डिङ अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः १ लाख र ५० हजार रुपैयाँसहित अन्य सुविधा प्रदान गरिएको छ । नृत्यतर्फ भने दुई उमेर समुहकैलाई प्रथमलाई जनहि २ लाख ५० हजार तथा दास्रो हुनेलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । तेस्रो हुनेलाई जनही २५ हजार प्रदान गरिएको छ ।
गत असार २० गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाबाट ६ सय जनाले भाग लिएका थिए । जसमा ४ सय ३० जनाले प्रारम्भिक चरणमा सहभागिता जनाएका थिए । मेघा अडिसनपछि छनोट भई ३१ जना प्रतिभा अन्तिम चरणमा प्रवेश गरेका थिए । जसमा गायनतर्फ १४, नृत्य सिनियरतर्फ ९ र जुनियरतर्फ ८ जना प्रतिस्पर्धी रहेका थिए ।
प्रतियोगितामा निर्णायकबाट ५० र भोटिङबाट ५० प्रतिशत अंक प्रदान गरिएको थियो । प्रतियोगिताको नृत्यतर्फ युसिन यस्माली मगर, सुशान्त लिम्बु र दिपेश मगर तथा गायनतर्फ जुनी खालिङ राई, दिनेश भारती र महेश राई निर्णायक रहेका थिए ।
स्थानीय कला, संस्कृति र युवाहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यसहित प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । विशेषगरी ग्रामीण भेगमा लुकेर रहेका प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्य आयोजकले लिएको थियो ।
प्रतियोगिताको फाइनलमा विशेष आकर्षणका रूपमा कलाकार डिजी राज पौडेल र ‘द भ्वाइस अफ नेपाल सिजन–६’ का प्रतियोगी बिराट तामाङको प्रस्तुति रहेको थियो । टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटाले २०७३ मा पूर्वाञ्चल डान्सिङ्ग सुपरस्टार तथा २०७४, २०७६, २०७८, २०८० र २०८१ मा पूर्वाञ्चल गट ट्यालेन्ट प्रतियोगिता सम्पन्न गरिसकेको छ ।