पर्यटन क्षेत्रको विकासमा प्राथमिकता दिने मन्त्री पराजुलीको प्रतिबद्धता

२५ चैत । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले प्रदेशमा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। धनकुटाको भेडेटारमा बुधबारदेखि सुरु भएको पर्यटन पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री पराजुलीले प्रदेशका पर्यटकीय क्षेत्रहरूको थप पहिचान गरी योजनाबद्ध रूपमा विकास गरिने बताउनुभयो । तालिम पर्यटन कार्यालय धरानको सहकार्य तथा नेपाल पत्रकार महासंघ, कोशी प्रदेशको आयोजनामा सञ्चालन भइरहेको छ। मन्त्री पराजुलीले विगतमा प्रभावकारी रूपमा काम हुन नसकेको स्वीकार गर्दै अब योजनाबद्ध ढंगले अगाडि बढ्ने बताउनुभयो। साथै, पर्यटन विकासका लागि निजी क्षेत्रसँग समन्वय गरी लगानी आकर्षित गरिने पनि उहाँको भनाइ थियो।

मन्त्री पराजुलीले पर्यटकीय स्थलहरूलाई गौरवका योजनाका रूपमा अघि बढाउन सकेमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो। साथै, आवश्यक पूर्वाधार र भौतिक संरचना निर्माणमा समेत जोड दिइने बताउनुभयो। उहाँका अनुसार पहाडी जिल्लाहरूमा पर्यटकीय सम्भावना हुँदाहुँदै पनि पर्याप्त विकास हुन सकेको छैन। यसका लागि संघीय सरकारसँग सहकार्य गरी योजनाहरू कार्यान्वयन गरिने उहाँले बताउनुभयो। त्यसैगरी, पत्रकारहरूलाई केवल समाचार सम्प्रेषण गर्ने मात्र नभई सशक्त रूपमा खबरदारी गर्ने भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा पर्यटन कार्यालय धरानका प्रमुख भीषण राईले पत्रकारिताले प्रश्न उठाउने र समाजलाई सचेत बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले मोबाइल पत्रकारितालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै पर्यटनसँग पत्रकारितालाई जोडेर प्रचार–प्रसारमा योगदान दिन आग्रह गर्नुभयो।
“कोशी प्रदेशको पर्यटन प्रवद्र्धनमा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ सञ्चालन भएको उक्त तालिममा प्रदेशका ९ जिल्लाबाट करिब ५० भन्दा बढी सञ्चारकर्मीहरूको सहभागिता रहेको छ। तालिम पूर्वको चर्चित पर्यटकीयस्थल भेडेटारस्थित नाम्जेमा बुधबार सुरु भएको तालिम आगामी २९ गतेसम्म गरि पाँच दिन सञ्चालन हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *