एजेन्सी
अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् ।
पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल डिसेम्बर १८ मा आइतबार हुनेछ । दोस्रो सेमिफाइनल मोरक्को र डिफेन्डिङ च्याम्पियन फ्रान्सबीच हुनेछ । क्रोएसियाविरुद्धको खेलमा मेस्सीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले पेनाल्टीमा गोल गर्नुका साथै अल्भारेजको एक गोलमा असिस्ट पनि गरेका थिए । ३५ वर्षीय मेस्सीको यो पाँचौं विश्वकप हो । मेस्सीको यात्रा अचम्मको छ र उनले हरेक उपलब्धि हासिल गरेका छन् । उनको खातामा विश्वकप मात्र छैन । मेस्सीले यस विश्वकपमा उपाधि जितेर आफ्नो सपना पूरा गर्ने आशा राखेका छन् ।
मेस्सीले कीर्तिमानी सात पटक विश्वकै उत्कृष्ट फुटबलरको अवार्ड जितेका छन् । उनले एक पटक फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड पनि जितेका छन् । उनले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । उनले गत वर्ष कोपा अमेरिकाको उपाधि पनि जितेका थिए ।
यता सन् २००६ बाट विश्वकप खेल्न थालेका मेस्सीको यो पाँचौँ विश्वकप हो । सन् २००६ मा ३ खेल खेलेका उनले सन् २०१० मा ५ खेल खेलेका थिए । सन् २०१४ मा फाइनलसम्म पुग्दा उनले ७ खेल खेले भने सन् २०१८ मा उनले ४ खेल मात्र खेल्न पाएका थिए । सन् २०२२ मा उनले ६ खेल खेलिसकेका छन् । मंगलबार राति क्रोएसियालाई हराउँदै मेस्सीले विश्वकपको उपाधि उचाल्ने दोस्रो मौका पाउँदैछन् । सन् २०१४ मा उनको सपना फाइनलमा पुगेर तोडिएको थियो । त्यस्तै, मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन् । क्रोएसियालाई ३–० ले हराउने क्रममा पेनाल्टीबाट गोल गर्दै ३५ वर्षीय मेस्सीले ग्याब्रियल बाटिस्टुटाको १० गोलको कीर्तिमान उछिनेका हुन् । उनले सन् १९९४, १९९८ र २००२ को विश्वकपमा खेल्दै सो कीर्तिमान बनाएका थिए ।
खेलको ३४ औँ मिनेटको मेस्सीको ११ औँ गोल थियो । विश्वकपको इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा उनी छैटौँ स्थानमा उक्लेका छन्प । उनीभन्दा अघि मिरोस्लाभ क्लोस ९१६०, रोनाल्डो नाजारियो ९१५०, गर्ड मुलर ९१४०, जस्ट फोन्टानी ९१३० र पेले ९१२० मात्र अघि रहेका छन् ।
यो विश्वकपमा उनले ५ गोल गर्दै गोल्डन बुटको रेसमा पनि आफूलाई कायम राखेका छन् । कुनै पनि विश्वकपमा ५ गोल गर्ने उनी सबैभन्दा बुढो खेलाडी पनि हुन् । कतार विश्वकपमा उनीसँगै फ्रान्सका किलियान एम्बाप्पेले ५ गोल गरेका छन् ।
एजेन्सीको सहयोगमा