नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष टिकाराम पुरी प्याब्सन रत्नबाट सम्मानित

कुमोद अधिकारी
२९ साउन,
विराटनगर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष टिकाराम पुरी प्याब्सन रत्नबाट सम्मानित हुनुभएको छ । उहाँलाई बुधबार काठमाडौं प्याब्सनले एक कार्यक्रमका बिच सम्मान गरेको हो ।
विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरेवापत सम्मान गरिएको हो ।
उहाँलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभयो । पुरीलाई देशका कर्णधारका रुपमा बालबालिकालाई उत्कृष्ट शिक्षा प्रदान गर्ने तथा नेपालको शिक्षामा आधुनिकिकरणको जग हाल्ने व्यक्तित्वको रुपमा प्याब्सन काठमाडौंले परिभाषित गरेको छ ।
यस्तै नीजि विद्यालयहरुलाई एकत्रित गर्ने देखि लिएर प्याब्सनको विधान निर्माण गर्दै असल संस्कारको विकास गर्ने तथा प्याब्सनको जिल्ला तथा केन्द्रको भवन निर्माण गरेर स्थायी भविष्य निर्माणको काम समेत पुरीले गरेको भन्दै प्रशंसा गरेको छ । यसैगरि आफ्नो जीवनका भोगाई हरुको साहित्यिक कृति खालि खुट्टा प्रकाशन गरेर नयाँ पुस्तालाई समेत उर्जा भर्ने काम गरेको भन्दै प्याब्सनले कृतज्ञता ब्यक्त गरेको छ ।

कार्यक्रममा बोल्दै मन्त्री पन्तले नीजि क्षेत्रले शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो । त्यसमा पनि सम्मानित पुरीले शैक्षिक क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले सम्मानित पुरी शैक्षिक क्षेत्रका पथ प्रदर्शक रहेको भन्दै चर्चा गर्नुभयो ।
यसैबीच सम्मानित पुरीले काठमाडौं प्याब्सनले आफूलाई गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै नेपालको शैक्षिक उन्नयनका लागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नीजि क्षेत्र सदैव सरकारका सारथिका रुपमा रहेको स्मरण गराउँदै राज्यले पनि सोहि अनुसारको भूमिका निर्वाह गरिदिनुपर्ने बताउनुभयो ।
उहाले अहिले संसदीय समितिमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक का सवालमा नीजि क्षेत्रले उठाएका मागहरूलाई गम्भिरतापूर्वक लिइदिन राजनीतिक दल, संसद र सरकारसँग आग्रह गर्नुभयो । यसअघि यहि सम्मानबाट पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तथा प्याब्सनका पूर्व अध्यक्ष उमेश श्रेष्ठ सम्मानित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *