राधाकृष्ण रथयात्रा कोशी प्रदेश मात्र नभएर देशकै गौरवको उत्सव हो –मुख्यमन्त्री कार्की

कुमोद अधिकारी
२९ साउन,
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगर आयोजना हुने राधाकृष्ण रथयात्रा कोशी प्रदेश मात्र नभएर देशकै गौरवको उत्सव भएको बताउनुभएको छ ।
विराटनगर स्थित राधाकृष्ण मन्दिरमा रथयात्राको विषयमा आज छलफल एंव निरीक्षण गर्न पुग्नुभएका मुख्यमन्त्री कार्कीले राधाकृष्ण रथयात्रा हाम्रो प्रदेशको गौरव भएकाले यसलाई भव्य र सभ्य रुपमा मनाउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।
यस वर्षदेखि नयाँ स्वरूपमा निर्माण गरिएको रथको अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले पुरानो रथलाई संरक्षण गरेर मन्दिर परिसरभित्रै राख्न आग्रह गर्नुभयो ।
रथ यात्रालाई भव्य रुपमा सम्पन्न गर्न सुरक्षा संयन्त्रलाई निर्देशन गरिसकेको र हेलिकप्टरबाट पुष्प वृष्टि गर्नका लागि नेपाली सेनासँग आग्रह गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो ।
आगामी दिनमा छिमेकी राष्ट्र भारतका मुख्यमन्त्रीहरूलाई निमन्त्रणा दिएर उहाँहरुलाई रथयात्रामा आतिथ्यता गराउने गरी तयारी गर्नका लागि पनि समितिका पदाधिकारीहरूलाई उहाले आग्रह गर्नुभयो ।
राधाकृष्ण रथयात्रा समारोह समितिका संयोजक कैलाश रेग्मी र सदस्यहरू नन्दकिशोर राठी तथा कृष्ण कार्कीले रथयात्राको तयारीका बारेमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराउनुभएको थियो।
श्रीकृष्ण अष्टमीको भोलिपल्ट विराटनगरमा नेपालको सबैभन्दा ठूलो र एसियाकै दोस्रो ठूलो रथयात्रा निकालिने गरिएको छ। यो रथयात्रामा सहभागी हुन भारत तथा नेपालका पाचलाख वढि भक्तजन सहभागि हुने समितिले जनाएको छ ।
विराटनगरको तिनपैनी स्थित राधाकृष्णको मन्दिरवाट भाद्र– १ गते आइतवार अपरान्ह रथयात्रा निकालिने भएको छ । सो रथयात्राले ९ किलोमिटरको दुरी ६ घन्टाको समय अवधिमा तयगर्ने गरि व्यवस्था मिलाइएको समितिका संयोजक कैलाश रेग्मीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *