कुमोद अधिकारी
२० साउन
विराटनगर । कोशी प्रदेशको झापा, मोरङ र सुनसरी जिल्लामा श्रृखलावद्ध विजुलीको ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको आठ स्थान, सुनसरीमा १२ र झापामा २ गरी २२ वटा ट्रान्सफर्मर श्रृखलावद्ध रुपमा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । चोरीका घटनामा संगलग्न १२ जनालाई पक्राउ गरेको कोशी प्रदेस प्रहरी कार्यालय विराटनगर प्रमुख डिआईजी इश्वर कार्कीले जानकारी दिनुभयो ।
सो कार्यालय द्धारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलन डिआईजी कार्कीले ट्रान्सफर्मर चोरीगर्ने सात जना र चोरीका समान खरिदगर्ने पाचजना जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा मोरङको ग्रामथान गाउँपालिका– ४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान– ५ का ३१ वर्षीय इरज धामी, सुनसरी दुहबी नगरपालिका– ३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी नगरपालिका – २ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी, मोरङ बेलबारी नगरपालिका – ४ का २६ वर्षीय अर्जुन चौधरी बेलबारी– ३ का २७ वर्षीय रञ्जित तामाङ र भारत घर दुहबी नगरपालिका – ४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मिया रहेका छन् ।
त्यसैगरी चोरीको सामान खरिदगर्ने विराटनगर महानगरपालिका– ३ का ५३ वर्षीय लक्ष्य प्रधान, मोरङ विराटनगर महानगरपालिका – ६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, सुनसरी दुहबी नगरपालिका– ३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी २ का ३१ वर्षीय कपिल भट्ट, इटहरी उपमहानगरपालिका– ४ का ३९ वर्षीय सिताराम राईलाई समेत पक्राउ गरी अनुसन्धान थालिएको डिआईजी कार्कीले वताउनुभयो ।

साथै प्रहरीले चोरीमा प्रयोग भएका औजार डायल रेन्च थान २२, सलाई रेन्व थान ३, पिलास थान ३, पेचकस थान ३, छिनो थान १, साङली धान १, कैची थान १, ह्याक्सो बिलेट ३ थान लगायत सामान बरामद गरेको छ । साथै प्रहरीले चोरीमा प्रयोग भएको ५ वटा मोटरसाइकल एउटा पिकअप भेन पनि बरामद गरेको छ ।
सो गिरोहले गत माघ १५ गतेदेखि श्रखलावद्ध रुपमा खेतियोग्य जमिन र एकान्त बस्तीमा राखिएका ट्रान्सफर्मर चोरी गर्दै आएको प्रहरीले जनाएको छ ।
साउन ९ गते मोरङको रंगेली नगरपालिका– ९ इटाभट्टा टोलमा ट्रान्सफर्मर चोरी गर्न गएको समूहका ४२ वर्षीय अर्जुनकुमार थारु पक्राउ परेपछि प्रहरी गिरोहसम्म पुग्न सफल भएको थियो ।

प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङ र सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरेको थियो । तिनवटा जिल्लामा श्रृखलावद्ध चोरी भएका २२ वटा ट्रान्सफर्मर चोरीहुदा विधुत प्राधिकरणलाई झन्डै २ करोड मूल्य बराबरका क्षति भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
यसरी श्रंखलावद्ध रुपमा ट्रान्सफर्मर चोरी हुदा विद्युतसेवा अवरुद्ध भएपछि मटरवाट सिचाईगर्दै आएका किसानहरुलाई समेत सिचाई गर्न समस्या हुदै आएकोे थियो । गिरोहनै पक्राउ परिसकेकाले अव ट्रान्सफर्मर चोरीका घटना नहुने डिआइजी कार्कीले दावी गर्नुभयो ।