‘कोशी प्रदेश पर्यटन बर्ष २०८२’ को उद्घाटन

चैत्र २७ कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न घोषणा गरेको ‘कोशी प्रदेश पर्यटन बर्ष २०८२’ को बुधबार भव्य उद्घाटन गरिएको छ । गुराँसको राजधानीका रुपमा परिचित रहेको तेह्रथुमको तिनजुरे क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–२ स्थित आरआर गार्डेनमा संघीय सरकारका उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पर्यटन बर्षको उद्घाटन गर्नुभएको हो ।
नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पु¥याउने बताउनुभएको छ ।
कोशी पर्यटन वर्ष २०८२ उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले पर्यटनको माध्यमबाट कोशी प्रदेशले समृद्धि र विकासको क्षेत्रमा प्रशंसनीय काम रहेको बताउनुभयो ।
कोशी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको र यसका लागि भारतबाट पर्यटक भित्र्याउन सक्ने चर्चा गर्दै उहाँले यसतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
पर्यटनको माध्यमबाट देशमा बढ्दै गएको आर्थिक शिथिलता लाई कम गर्न सकिने बताउँदै उहाँले पर्यटनबाट नेपालको समृद्धि हुने बताउनुभयो ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशबाटै पर्यटन क्षेत्रको विकासमा सन्देश प्रवाह गरी आधार वर्ष तयार गर्न पर्यटन वर्ष घोषणा गरिएको बताउनुभयो ।
उहाँले कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको बताउनुभयो । मुख्यमन्त्री कार्कीले महत्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटन मार्फत राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।
सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको व्यवहार सुधार गरेर अघि बढ्दै पर्यटनलाई प्रवद्र्धन गर्ने चाहना रहेको मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभयो ।
उहाँले कोशी प्रदेशलाई बन्द हड्तालबाट मुक्त बनाउँदै भएका समस्या वार्ताको माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पर्यटन विकासका लागि नीतिगत सुधार, संरचनाको विकास, प्रचार प्रसार गरिने बताउनुभयो । साथै सामाजिक एवं धार्मिक संरचनाको संरक्षण गर्दै पर्यटन क्षेत्रलाई अघि बढाउने उहाँको भनाइ थियो ।
लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले पहाडी क्षेत्रमा मान्छेको बसाई घट्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *