कुमोद अधिकारी
२९ चैत विराटनगर
कोशी प्रदेश सरकारले सिमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरु गरेको छ। विराटनगर स्थित जोगबनी नाकाबाट पर्यटकहरु चढेका सवारी साधनमा स्टिकर टाँस्न सुरु गरिएको हो। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भारतीय सवारी साधनमा स्टिकर टाँसेर अभियानको सुभारम्भ गर्नुभयो ।
आगामी २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज र सहज र सरल होस् भनेर यो अभियान सुरु गरेको हो। भारतबाट आउने पर्यटकहरुलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि यो अभियानलाई कोशी प्रदेशभरि लागू गर्न लागेको हो ।
यो स्टिकर टाँसेको सवारी साधनलाई नाकामा चेकजाँच गरेपछि अरु बीचमा प्रहरीले चेकजाँच गर्न नपाउने व्यवस्था गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील खालको सूचना आएमा मात्र त्यस्ता गाडीमा चेकजाँच गरिने जानकारी दिनुभयो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सो अभियानको उद्घाटन गर्दै स्टिकर टासेपछि पर्यटकमा हुने अनावश्यक झन्झट र दुःख हट्ने बताउनुभयो। यसले कोशी प्रदेशको पर्यटन वर्ष सफल हुने बताउनुभयो।
नेपालीहरूको मूल मर्म अतिथि देव भव भएकाले अतिथिको सम्मान गर्नु हाम्रो दायित्व भएको बताउँदै मुख्यमन्त्री कार्कीले अतिथिहरुलाई सम्मान गरेर पर्यटन वर्ष सफल पार्न आग्रह गर्नुभयो।
उहाँले पर्यटन वर्ष सफल भएमा आर्थिक समृद्धि र विकास सम्भव हुने बताउनुभयो। कार्यक्रममा बोल्दै पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पर्यटनको माध्यमबाट विकास र समृद्धिलाई अघि बढाउन सबैलाई आग्रह गर्नुभयो।
मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटनवर्ष–२०८२ अन्तर्गत कोशी प्रदेसमा तिनलाख वढि वाह्रय पर्यटक भित्राउने लक्ष्य अनुसार कोशी प्रदेसमा रहेको पर्यटकिय गन्त्वयको पहचानगर्दै त्यसलाई व्यवस्थित वनाउने र पर्यटक आवागमन हुने सडक पुर्वाधारलाई समेत व्यवस्थित वनाउने कार्य भइरहेको जानकारी गराउनुभयो ।
कोशी प्रदेश सरकारले वैशाख १ गतेदेखि पशुपतिनगर, काँकरभिट्टा, भन्टाबारी र जोगबनी नाकामा स्टिकर टाँस्ने व्यवस्था गरेको छ। प्रहरी र कर्मचारी राखेर सानो कार्यालय समेत स्थापना गरी यो काम अगाडि बढाइएको छ।