कोशी पर्यटन वर्षको उद्घाटनको सम्पूर्ण तयारी पूरा, प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको शुभारम्भ गर्नुहुने

कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर सुरु गरेको कोशी पर्यटन वर्षको उद्घाटनको सम्पूर्ण तयारी पूरा गरेको छ । कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गर्न लागिएको हो ।
कोशी प्रदेशको तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भको तयारी गरिएको छ । भोली तेह्रथुमको तीनजुरेबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको शुभारम्भ गर्नुहुनेछ । मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागेको बताउनुभयो ।
उहाँले कोशी प्रदेशमा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको र यसका माध्यमबाट प्रदेशलाई समृद्धिमा लैजान सकिने आशा व्यक्त गर्नुभयो । ‘प्राकृतिक सुन्दरताले भरिपूर्ण कोशी प्रदेशका मनोरम क्षेत्रहरूमा पूर्वाधार विकास गर्दै अघि बढ्ने र कोशी प्रदेशमा सधैंभरि पर्यटक आइरहने अवस्था सिर्जना गर्नका लागि यो पर्यटन वर्ष आधार शिला हुनेछ,’ उहाँले भन्नुभयो ।
कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकलाई असजिलो हुन नदिनका लागि नाकाहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तयारीमा पर्यटकीय बस तथा सवारी साधनलाई स्टिकर लगाइदिने तयारी पनि गरेको छ । यस्तो स्टिकर लगाएको सवारी साधनमा आउने र जाने मिति तोकेपछि बीच बाटोमा अनावश्यक रूपमा झन्झट नदिने र चेक जाँच नगर्ने कोशी प्रदेश सरकारले तयारी गरेको छ ।
पर्यटन वर्ष भव्यताका साथ मनाउनको लागि कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति निर्माण गरी कामलाई अगाडि बढाइएको छ । कोशी प्रदेश सरकारले पर्यटन कार्यालय काँकरभिट्टा र धरानलाई समेत यो कार्यमा परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *