कुमोद अधिकारी
१४ पुष,
विराटनगर । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईले सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने बताउनु भएको छ ।
संघीय सरकारको शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले विराटनगरमा आज आयोजना गरेको शिक्षा ब्यवस्थापन कार्यक्रममा बोल्नुहुदै उहाले अहिले भएको शिक्षा ऐन र शिक्षा नितिबाट पनि धेरै काम गर्न सकिन बताउनुभयो ।
मन्त्री भट्टराईले संघीय शिक्षा ऐन छलफल प्रक्रियामा अघि बढी सकेकोले चाँडै ऐन आउनेमा आशावादी हुन आग्रह गर्नुभयो । शिक्षाक्षेत्र समस्या ग्रस्त भएकोले कानुन आवश्यक रहेको र कानुन बनाउन खोजेको बताउँदै ब्यवहारिक पक्ष पनि बलियो बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघले कानुन छिटो छरितो ढंगले नबनाउदा शिक्षा क्षेत्र अघि बढ्न नसकेको उल्लेख गर्नुहुदै संघीय शिक्षा ऐन चाँडै आउनुपर्ने बताउनुभयो । मुख्य मन्त्री कार्कीले संघले कानुन छिटो छरितो ढंगले नबनाउदा शिक्षा क्षेत्र अघि बढ्न नसकेको बताउनुभयो ।
’प्रदेशले कानुन बनाउनु पर्दा सात दिनमा बनाउन सक्छ तर संघले सात बर्षमा सक्दैन किन हो म छक्क पर्छु’ मुख्यमन्त्री कार्कीले भन्नुभयो – ’संघले चाँडै कानुन बनाउ लाग्नुपर्छ। व्यवधानलाई हटाउन पहल होस ।’
मुख्यमन्त्री कार्कीले राजनीतिक नेतृत्वले सबै हुन्छ भन्ने, कर्मचारीले विभिन्न बहाना देखाएर पन्छिने प्रवृत्तिले काम हुन नसकेको औल्याउँदै यसले गर्दा पनि परिणाम आउन नसकेको धारणा राख्नुभयो ।
कतिपय अवस्थामा सरकार र कर्मचारीको विषय अदालतमा पुग्ने र ती मुद्दा मामिला अदालतमा लामो समय अड्किँदापनि काममा समस्या भएको उहाँले औल्याउनुभयो । अहिलेको सामुदायिक शिक्षाको अवस्था कमजोर रहेको बताउदै मुख्यमन्त्री कार्कीले यसको व्यवस्थापन र सुधारमा गम्भीर भएर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका सामाजिक बिकास मन्त्री पांचकर्ण राई र शिक्षा सचिव दिपक काफ्ले, प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा लगायतले बोल्नु भएको थियो ।