कुमोद अधिकारी ,विराटनगर
हात्तीपाइलेबाट लाग्ने हाइड्रोशिल रोगको अपरेशनका लागि विरामीहरुको अस्पताल आउने क्रम बढन थालेको छ । यो रोगका विषयमा स्थानिय स्तरमा जनचेतना बढन थालेपछि विरामीहरु अपरेशनका लागि अस्पताल आउने थालेका छन । रोग लागेपछि लाज र संकोचका कारण विरामीहरु घरमै बस्ने गरेकोमा अहिले यो रोग अपरेसनबाट निकोहुन्छ भन्ने जनचेतनाका कारण कोशी अस्पताल लगायत मोरङ जिल्लाका विभिन्न अस्पतालमा विरामीहरु अपरेसनका लागि आउन थालेका छन । कोशी अस्पताल विराटनगरले आयोजना गरेको हाइड्रोशिल रोगका विषयमा संचारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा चालु आर्थिकवर्षको हाल सम्म १ सय २४ हाइड्रोशिल विरामीको अपरेशन गरेको जनाएको छ । अस्पताले गत वर्ष ६२ जना र अघिल्लो आर्थिक वर्षमा पनि ६२ जना विरामीको अपरेशन गरेको जनाएको छ ।
हात्तीपाइले रोगका कारण अण्डकोश सुनिएर हाइड्रोशिल रोग लाग्ने गर्दछ । विगत सातवर्ष देखि सो रोगका विरामीको अस्पताले निःशुल्क अपरेशन गर्दै आएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रविनराज सिंहले बताउनुभयो । स्वास्थ्य कार्यालय मोरङले कोशी अस्पताललाई हाइड्रोशिल विरामीको अपरेशनका लागि यो वर्ष १ सय ३० जनाको लक्ष्य दिएकोमा अस्पतालले अहिलेसम्म १ सय २४ जनाको अपरेशन गरेको हो । यो बाहेक अस्पतालमा स्वास्थ्य विमाबाट छुट्टै यस प्रकारका विरामीले सेवा लिइरहेका छन । अस्पताले रोगका विषयमा जनचेतना जगाउन पालिका स्तरमा अपरेशनका लागि शिविर आयोजना गरेको छ । यो वर्ष दुुइवटा शिविर आयोजना गरिसेको मेडिकल सुपरिटेन्डेन डा. सिंहको भनाई छ । हाइड्रोशिलको अपरेशन गर्दा यौन शक्ती तथा सन्तान जन्माउने क्षमतामा कुनै असर नहुने भएकाले यस्ता विरामीलाई रोग लाग्ने वितिकै निसंकोच अपरेशन गर्न समेत डा. सिंहले आग्रह गर्नुभयो । अस्पतालमा यो रोगका विरामीहरु अपरेशनका लागि आउने क्रम बढन थालेकाले स्वास्थ्य कार्यालयले अस्पताललाई दिदै आएको लक्ष्य बढाउन आवश्यक रहेको उहाँको भनाई छ ।
कार्यालयले एउटा विरामीको अपरेशनका लागि अस्पताललाई सातहजार रुपैया उपलव्ध गराउदै आएको छ । सो रकम ओपीडी चार्ज, औषधि खर्चा तथा ओटी खर्चमा लाग्ने गरेको छ ।