कुमोद अधिकारी
मोरङ,१९ पुसः
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास होइन विकासको रुपमा अगाडि वढाउनु आवश्यक रहेको बताउनु भएको छ ।
विराटनगरमा आज आयोजित केशलिया वुढिखोला करिडोर विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उहाँले यस क्षेत्र भएर वग्ने केशलिया वुढीखोला नदीको शौन्दर्यकरण एवं विकासले यस क्षेत्रका जनताको आर्थिक समृद्धि तथा रोजगारमा वृद्धि हुने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले करिडोर निर्माणबाट वर्जु गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र(सेज)मा उद्योग स्थापना गर्न सहज पहँचले प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने धारणा राख्नु भयो ।
उहाँले सरकारले समृद्धिको पाइल चाल्न जनताको पैसाको सही ठाउँमा सदुपयोग गर्ने अठोट व्यक्त्त गर्दै प्रदेशको १३७ पालिकाका जनताको जीवनस्तर उठाउने लागि पर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

अध्ययन प्रतिवेदन निर्माण कर्ताद्वय महेन्द्र सुव्वा र प्रशान्त मल्लले दुहवी नगरपालिका, वुढीगंगा, बर्जु गाउँपालिका र विराटनगनगर महानगरपालिका लाई छुने उक्त परियोजनाको लागत रु एक अर्व ३२ करोड रहेको जानकारी दिनु भयो ।
आगामी तीन वर्षमा सम्पन्न गरिने उक्त परियोजनाले दुहवीदेखि विराटनगर रानीका भारतीय सीमा क्षेत्रसम्म खोलाको दुवैतर्फ ४२ किलोमिटर बाटो निर्माण हुनुका साथै खोलामा वाँध निर्माण र शौन्दर्यकरण गरिने छ ।
मुख्यमन्त्री कार्कीलाई स्विस सहयोग नियोगको सहयोगमा निर्माण गरिएको उक्त्त प्रतिवेदन राजीव उपाध्यायले हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउत, पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशिल श्रेष्ठ लगायतले परियोजना निर्माणले उद्योग स्थापना एवं विराटनगर विमानस्थल रन वे विस्तारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नु भयो ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले परियोजना अन्ततर्गतको नदीमा वाँध निर्माण प्रक्रिया आजदेखि शुरु हुने घोषणा समेत गर्नु भयो ।