विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको प्राप्त गर्नुभएको छ । कांग्रेसभित्र विद्रोह गरेर एमाले सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले प्रदेशसभाका दुई तिहाईभन्दा धेरै सांसदको समर्थन पाएका छन् । प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ मतदानका लागि प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । जसमा प्रदेशसभाका ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई मत दिनुभएको छ। संविधानको धारा १६८ ५ बमोजिम मुख्यमन्त्री बनेका कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदले विपक्षमा मतदान गरेका छन् ।
कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा निर्वाचन भएको नौ महिनाको अवधिमै संविधानले व्यवस्था गरेका चार वटै उपधाराको प्रयोग भएको छ भने उपधारा ५ बमोजिमको सरकार गठनमा कांग्रेस र सत्ता गठबन्धनमा विद्रोहका बाबजुद नवनियुक्त मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्नुभयो ।