कोशीप्रदेश को मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर — कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ भने आइतबार लिनुहुने भएको छ । प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

संविधानको धारा १६८ (३) अन्तर्गत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आह्वान गनुभएको थियो ।

सत्ता गठबन्धनको सिफारिसमा मुख्यमन्त्रीमा दाबी पेश गरेका आङ्बोले शनिबार भने सनाखत गर्नुभएन । र कार्कीले ४७ सदस्यको सनाखत गरेसँगै प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

कांग्रेस प्रदेश सभा सदस्य निर्वाचित भएका कार्कीले कांग्रेसको निर्णयविरुद्ध विद्रोह गर्दै कांग्रेसका ८ प्रदेश सभा सदस्य सहित एमालेसँग मिलेर मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । कोशी प्रदेश सभामा ९३ सांसद रहेकामा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *