बिराटनगर, १७ भदौ । गत २०८३ भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी र दुखद् बाढीपहिरोका कारण अर्बौँको भौतिक क्षति हुनुका साथै नेपाली र विदेशी पर्यटकको समेत ज्यान गएको छ । यस राष्ट्रिय विपत्तिको घडीमा पीडितहरूलाई थोरै भए पनि मल्हमपट्टि लगाउन बिराटनगरका स्थानीय महिलाहरू एकजुट भएका छन्। “थोपा थोपा पानी मिलेर समुद्र बन्छ” भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै बिराटनगर वडा नम्बर १ र ३ मा सक्रिय दिदीबहिनीहरूले स्वतःस्फूर्त रूपमा राहत रकम संकलन गरी राज्यको आधिकारिक कोषमा जम्मा गरेका हुन । भोटेकोसी क्षेत्रमा भएको अपूरणीय मानवीय र धनजनको क्षतिप्रति गहिरो दुःख ब्यक्त गर्दै यहाँका फुलवारी आमा समूह, शृजनशील आमा समूह तथा सनातन भजन कीर्तन समूह (बिराटनगर १/३) को संयुक्त अग्रसरतामा रू. ७५,५००/- (पचहत्तर हजार पाँच सय रुपैयाँ) संकलन गरिएको थियो । उक्त संकलित रकम २०८३ साल भदौ १५ गते राष्ट्रिय वाणिज्य बैंक, बरगाछी शाखा संकलन केन्द्रमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खाता नम्बर ११३०१००००३७६२००१ मा जम्मा गरिएको जानकारी समूहकी कोषाध्यक्ष चेतकुमारी पोखरेलले दिनुभएको छ।
यसअघि, यही साउन महिनामा पनि यिनै सक्रिय दिदीबहिनीहरूको पहलमा समुदाय लक्षित निकै सराहनीय सामाजिक कार्य सम्पन्न भएको थियो। भरोसा महिला बचत तथा ऋण सहकारी संस्था र एन्जल फाउन्डेसनको संयुक्त आयोजनामा एक बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। सो स्वास्थ्य शिविरमा स्थानीय समुदायका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू गरी कुल १३५ जनाले सुगर र प्रेसर (रक्तचाप) को जाँच गराई परामर्श सेवा लिएका थिए। यसैगरी, कष्टकर स्वास्थ्य समस्या मानिने पायल्स, फिस्टुला र फिसर रोगबाट पीडित ५२ जना बिरामीहरूले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका थिए भने तीमध्ये जटिल अवस्थामा रहेका ८ जना बिरामीहरूको निःशुल्क सफल शल्यक्रिया (सर्जरी) समेत गराइएको थियो।

समाजमा राहत, सेवामा निरन्तरताको प्रतिबद्धता
दिदीबहिनीहरूले देखाएको यस्तो उदाहरणीय र परोपकारी सामाजिक कार्यले स्थानीय क्षेत्रमा निकै ठूलो राहत महसुस गराएको यहाँका बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूले बताएका छन्। विपद् र महामारीका बेला राज्यको मुख मात्र नताकी स्थानीय स्तरबाटै हुने यस्ता साना-साना सामूहिक प्रयासले समाजलाई अघि बढाउन ठूलो ऊर्जा मिल्ने उनीहरूको भनाइ छ।
आगामी दिनमा पनि समाज र राष्ट्रलाई अप्ठ्यारो पर्दा वा यस्ता भैपरि आउने प्राकृतिक विपत्ति एवं मानवीय संकटका बेला आफ्नो सामाजिक सेवाको यात्रालाई निरन्तरता दिइरहने प्रतिबद्धता समूहकी अध्यक्ष दुर्गा देवी रिजाल आचार्यले ब्यक्त गर्नुभएको छ।