विराटनगर महागनगरपालिकाका १९ वटै वडा पूर्ण खोप सुनिश्चित, ११ हजार ६३० बालबालिका खोपको पहुँचमा

कुमोद अधिकारी
२१ जेठ,
विराटनगर । विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ ।बाल स्वास्थ्य संरक्षण र रोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै महानगरले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा पुुर्याएसंगै महानगरपालिकाले यो लक्ष्य हासिल गरेको हो ।
पूर्ण खोप प्राप्त गर्ने बालबालिकामध्ये ०–११ महिनाका दुई हजार १३९ जना, १२–१५ महिनाका ९७७ जना, १६–२३ महिनाका एक हजार ५४८ जना तथा २४–५९ महिनाका ६ हजार ९६६ जना रहेको महागनरपालिकाले जनाएको छ । महानगरपालिकाको यो उपलब्धिसँगै बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगविरुद्ध सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको जनाएको छ।
विराटनगर महानगरपालिकाले वडा नं १ देखि १९ सम्मका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी प्रमाणपत्र दिइसकेको छ ।
आवश्यक सबै सूचक पूरा गरी पूर्ण खोप सुनिश्चितता हासिल गरेका वडाहरूलाई सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरिएको महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो ।
महानगर प्रमुख कोइरालाले बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएकाले खोप अभियानले बाल मृत्युदर घटाउन, रोगको जोखिम न्यूनीकरण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गर्नुभयो ।
महानगरले नियमित खोप सेवाको पहुँच विस्तार, अभिभावकमा जनचेतना अभिवृद्धि तथा स्वास्थ्यकर्मीहरूको सक्रिय परिचालनमार्फत उल्लेखनीय सफलता हासिल गरेको महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीको भनाई छ ।
‘पूर्ण खोप सुनिश्चितता केवल एक कार्यक्रम होइन, यो बालबालिकाको सुरक्षित भविष्यसँग जोडिएको अभियान भएकाले ‘महानगरले आगामी दिनमा पनि खोप छुटेका बालबालिकाको खोजी, नियमित अनुगमन र अभिलेखीकरणलाई थप प्रभावकारी बनाउने जनस्वास्थ्य अधिकृत कार्कीको भनाई छ ।
खोप संयोजक सुशील साहले विराटनगरमा खोप सेवाको गुणस्तर सुधार, तथ्यांक व्यवस्थापन र समुदायस्तरको सहभागिताले अभियान सफल भएको उल्लेख गर्नुभयो ।

पूर्ण खोप कार्यक्रमले बालबालिकालाई दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी, टिटानस लगायतका रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएकाले आगामी दिनमा खोप कार्यक्रममा लाई थप प्रभावकारी वनाउने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलता रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *