कुमोद अधिकारी
२२ चैत,
विराटनगर । साहित्यकार अर्जुन नेपालको नाटक ‘सीमा’को विमोचन गरिएको छ । शनिबार विराटनगरमा नाटक‘सीमा’को विमोचन गरिएको हो ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्राध्यापक कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रष्ठिानका अध्यक्ष विवश पोखरेललगायतले विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा नाटकका विषयमा साहित्यकार निर्मला कोइरालाले टिप्पणी गर्दै नाटक सीमामा समेटिएका विभिन्न पात्र र प्रबृत्तीले मानव जीवनका विभिन्न आरोह अवरोहहरूलाई समेटेको बताउनुभयो ।
पुस्तकका विषयमा चर्चा गर्दै साहित्यकार बाबुराम पोखरेलले नाटकमा मुख्य पात्र सीमाले जीवनको सीमिततालाई संकेत गरेको उल्लेख गर्नुभयो ।
पोखरेलले युवा यौवनमा घट्ने घटनालाई आधार मानेर नाटकका पात्रहरूले नाटकमा भूमिका निर्वाह गरेको बताउनुभयो । नाटकभर दर्शक तथा पाठकलाई मुख्यपात्र सीमाको व्यवहारले उत्सुक तथा जिज्ञासु बनाइराख्ने भएकाले नाटक निक्कै राम्रो रहेको पोखरेलको भनाई छ ।
नाटककार अर्जुन नेपालले आधुनिक सञ्चारका साधनको समयमा पनि नाटकको पुस्तक प्रकाशित गरिएको बताउनुभयो । उहाँले नाटकमा जीवनका भोगाई र अनुभवलाई समावेश गरि पाठक तथा दर्शक सामु ल्याइएको जानकारी दिनुभयो । नाटकलाई पाठक तथा दर्शकहरूले रुचाइदिनेमा आशावादी रहेको उहाँको भनाई छ । कार्यक्रममा प्राज्ञ खेम नेपाली, साहित्यकार गोपाल देवानलगायतले नाटक सीमाका विषयमा चर्चा गर्नुभएको थियो ।