कुमोद अधिकारी
१४ चैत,
विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा जारी घर निर्माण प्रदर्शनीको तेस्रो दिन आज थिमेटिक सेसनमा वास्तु र इन्टेरियर डिजाइनबारे अन्तरक्रिया र छलफल भएको छ।
विराटनगरस्थित जैन भवनको परिसरमा सम्पन्न तेस्रो दिनको थिमेटिक सेसनमा विज्ञहरूको उपस्थितिमा ’स्मार्ट डिजाइनः वास्तु, इन्टेरियर डिजाइन र प्राविधिक योजना’ थिममा अन्तरक्रिया र छलफल सम्पन्न भएको हो।
उक्त थिमको ’इन्टेरियर डिजाइन अवधारणाः स्पेस प्लानिङ्ग, उपयोगिता र सौन्दर्य’ शीर्षकमा बोल्दै इन्टेरियर डिजाइनर कृति श्रेष्ठ उपाध्यायले इन्टेरियर डिजाइनिङ्ग को अर्थ डिजाइन र डेकोर मात्रै नभएर कला र प्रविधिको समिश्रण भएको बताउनु भयो । उहाँले इन्टेरियर डिजाइनिङ्गले घरलाई सहज, सरल र सुरक्षित बनाउन मदत गर्ने धारणा व्यक्त गर्नु भएको थियो।
’इन्टेरियर डिजाइन बुझ्न डिजाइनिङ्ग एलिमेंट्स देखि डिजाइनिङ्गका सिद्धान्त समेत बुझ्न जरुरी छ’, उहाँले भन्नु भयो, ’विलासी वस्तुहरूको प्रयोगले मात्रै इन्टेरियर डिजाइनिङ्ग पूर्ण हुँदैन, यसमा हावाको बहाव, सुर्यको प्रकाशजस्ता प्राकृतिक कुराहरूको संयोजन समेत मिलाउन सक्नु पर्दछ। ’
विगत १ दशक भन्दा बढी समयदेखि इन्टेरियर डिजाइनर रुपमा काम गर्दै आउनु भएको उपाध्यायले आफूले गरेका कामहरू बारे जानकारी समेत दिनु भएको थियो।
त्यस्तै, ’आधुनिक घरका लागि वास्तुः आधारभूत सिद्धान्त र प्रयोग’ शीर्षकमा वस्तुविद् रोज धाडेवाले वास्तु विज्ञानका सिद्धान्त र आधारभूत मान्यता बारे छलफल गर्नु भएको थियो। उहाँले वास्तु विज्ञानमा घर निर्माण भएको दिशा, जमिनको प्रकृति, घरको रङ्गलगायत धेरै कुराले अर्थ राख्ने बताउनु भएको थियो।
’घरका सदस्यहरूको स्वभाव, प्रकृतिलगायत धेरै कुराले वास्तुमा अर्थ राख्छ’, उहाँले भन्नु भयो ’,निर्माण सम्पन्न भैसकेको भवनलाई वास्तु मिलाउने नाम भत्काउनु भन्दा अगाडिनै वास्तुबारे आधारभूत जानकारी राख्नु फलदायी कुरा हो।’
दुई सेसन सम्पन्न अन्तरक्रियामा उपस्थितहरूले पनि विज्ञहरूसँग अन्तरक्रिया तथा छलफल गरेका थिए।
चैत १२ देखि १६ गते सम्म संचालन हुने प्रदर्शनीको चौथौँ दिनको थिमेटिक सेसनमा इन्टेरियर डिजाइन अवधारणा, घर अटोमेशन तथा आधुनिक जीवनशैली, विद्युतीय सुरक्षा, ऊर्जा दक्षता, सोलार घरबारेमा अन्तरक्रिया र छलफल हुने संगठनका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिनुभयो।