विराटनगरको रानी अस्पतालबाटचौवीस घण्टे निःशुल्क प्रसूति सेवा सुरु

कुमोद अधिकारी
मंसिर, ९
विराटनगर÷ विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट चौवीस घण्टे निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सुरु गरेको छ । महानगरले मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा निःशुल्क प्रसूति सेवा सुरु गरेको हो ।
आज आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर नागेश कोइरालाले सेवाको शुभारम्भ गर्नुभयो । महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रसूति सेवा सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज भएको बताउनुभयो ।
उहाले आफूले चुनावमा गरेको बाचाअनुरुप प्रसूति सेवा सञ्चालनमा ल्याएको स्पष्ट पार्दै सो क्षेत्रमा विपन्न र पिछडिएका समुदायको बसोबास भएकाले निःशुल्क रुपमा सञ्चालनमा ल्याइएको प्रसूति सेवाबाट लाभ लिन सक्ने वताउनुभयो ।
‘यस क्षेत्रका बासिन्दालाई विराटनगरका ठूला अस्पताल गएर सेवा लिन निकै समस्या थियो,’ कोइरालाले भन्नुभयो ‘आर्थिक हिसाब र दूरीका हिसाबले पनि यस क्षेत्रका स्थानीयलाई अब भने निकै सहज हुनेछ ।’
त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले आगामी दिनमा रानी अस्पतालबाट अन्य सेवालाई विस्तार गरिने जानकारी दिनुहुदै प्रसूति सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलको महानगरवासी लाई सहज रुपले स्वास्थ्य सेवा पु¥याउन आफुहरु तत्पर रहेको वताउनुभयो ।
वडा नम्बर १५ का वडा अध्यक्ष प्रकाश साहले महानगर नेतृत्वले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेकोमा धन्यवाद दिनुहुदै अस्पतालका अन्य सेवालाई विस्तार गर्न आग्रह गर्नुभयो ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. सुरेश मेहताले माथिल्लो निकायसँग सेवा सम्झौता गरेर अस्पतालको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
महानगरका स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले अस्पतालमा तालिम प्राप्त जनशक्तिको व्यवस्था मिलाई सेवा प्रभावकारी बनाइएको बताउनुभयो । उहाले १९ वटै वडामा एम्बुलेन्स सेवा, गर्भवती महिलाहरूका लागि निःशुल्क भिडियो एक्सरेको सुविधा उपलब्ध गराइएको जानकारी दिनुभयो ।
सो अवसरमा जनस्वास्थ्य अधिकृत रमेश कार्की, रानी अस्पतालका प्रमुख मानिकचन भगत, स्थानीय समाजसेवी दिनानाथ आचार्यलगायतले अस्पताललाई अप्ठ्यारो अवस्थाबाट आजका दिनसम्म ल्याइपु¥याउन सबैको साथ र सहयोग रहेको वताउनुभयो ।
अस्पतालमा हाल फिजियो थेरापी, ओपीडी सेवा, स्वास्थ्य बिमा, परिवार नियोजन सेवा, खोप सेवा, मातृशिशु सेवा, मनोपरामर्शलगायतका सेवाहरू उपलब्ध हुँदै आएको छ । मोरङका १७ पालिकामध्ये विराटनगर महानगर स्वास्थ्य सेवा कार्यक्रम मूल्यांकनमा तेस्रो स्थान प्राप्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *