कुमोद अधिकारी
२६ साउन,
विराटनगर ÷ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औँ स्थापना दिवस मोरङ शाखाले कार्यक्रमको आयोजना गर्दै मनाएको छ ।
विराटनगरको हिमालय दर्शन कलेजको सभाहलमा सोमबार आयोजित समारोहमा पत्रकारिता पुरस्कार अर्पण र संस्थाको आधिकारिक वेबसाइट शुभारम्भ गर्दै स्थापना दिवस मनाएको हो ।
‘कृष्ण देवान पत्रकारिता पुरस्कार’ फोनिजका केन्द्रीय उपाध्यक्ष समेत रहेका क्रियाशील पत्रकार अर्जुन जम्नेली राईलाई प्रदान गरिएको छ ।
फोनिज प्रदेश १ का लेखा समिति संयोजक प्रेम देवानले आफ्ना स्वर्गीय बुवा कृष्ण देवानको स्मृतिमा स्थापना गरेको यो पुरस्कार पहिलो पटक वितरण गरिएको हो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पत्रकार राईलाई ८ हजार रुपैयाँ नगद राशि र सम्मानपत्रसहित पुरस्कृत प्रदान गर्नु भएको थियो ।
स्थापना दिवसकै अवसरमा फोनिज मोरङले आफ्नो डिजिटल उपस्थितिलाई सशक्त बनाउँदै आधिकारिक वेबसाइटको शुभारम्भ ग¥यो । उक्त वेबसाइट हिमालय दर्शन कलेजमा बिएससी सिएसआइटीमा अध्ययनरत विद्यार्थीहरूले निर्माण गरी फोनिजलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि, महानगर प्रमुख कोइरालाले वेबसाइटको शुभारम्भ गर्दै आजको युग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को भएको उल्लेख गर्नुभयो । उहाले भन्नुभयो ‘अबको समय प्रविधिको हो । समयसापेक्ष आफूलाई परिमार्जन र विकास गर्न नसक्ने व्यक्ति तथा संस्थाहरू पछाडि पर्छन् । फोनिज मोरङले सुरु गरेको यो डिजिटल यात्रा सराहनीय छ ।’
कार्यक्रममा बोल्दै हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाले फोनिजसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्ता रचनात्मक कार्यहरूमा सधैँ तयार रहने प्रतिबद्धता जनाउनुभयो ।
पुरस्कृत व्यक्तित्व तथा फोनिजका संघीय उपाध्यक्ष अर्जुन जम्नेली राईले ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नीतिको लक्ष्य प्राप्तिका लागि महासंघ निरन्तर अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा फोनिज प्रदेश १ का अध्यक्ष विजयबोध लावती, नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठक, लिम्बु पत्रकार संघका केन्द्रीय सदस्य सुजता लिम्बुलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
फोनिज मोरङका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन मन्तब्य राख्दै उहाहरुले संस्थालाई प्रविधिमैत्री बनाउने आफ्नो कार्यकालको योजनाले सार्थकता पाएको बताउनुभयो ।
‘हामीले कार्यसमितिमा आउँदा फोनिज मोरङलाई परम्परागत शैलीबाट एक कदम अगाडि बढाएर प्रविधिसँग जोड्ने संकल्प लिएका थियौँ । आज यो वेबसाइट शुभारम्भसँगै त्यो यात्रा सुरु भएको छ,’ फोनिज अध्यक्ष श्रेष्ठले भन्नुभयो , ‘यो केवल एउटा वेबसाइट मात्र होइन, यो आदिवासी जनजातिका आवाजलाई विश्वव्यापी रूपमा पु¥याउने हाम्रो प्रतिबद्धताको डिजिटल प्रतीक हो । आगामी दिनमा हामी यस्तै रचनात्मक र प्रभावकारी कार्यक्रममार्फत आदिवासी जनजाति पत्रकारहरूको क्षमता अभिवृद्धि र समुदायको हकहितमा अझ दृढतापूर्वक अघि बढ्नेछौँ ।’
कार्यक्रमको सञ्चालन सचिव विद्यानन्द चौधरीले गर्नु भएको थियो । कार्यक्रममा प्रेस यूनियन कोशी प्रदेसका अध्यक्ष मिनकुमार नवदित, संसदीय पत्रकार संघ प्रदेश का उपाध्यक्ष गोकुल पराजुली, प्रेस चौतारी मोरङकी अध्यक्ष चीना थापा, प्रेस सेन्टर मोरङका अध्यक्ष नविन कर्ण, समाजवादी प्रेस संगठन मोरङ सचिव उत्तम पोखरेललगायत विभिन्न संघसंस्थाका प्रमुख तथा सञ्चारकर्मीहरूकोे उपस्थिति रहेको थियो ।